तत्काल बीआरआई सम्झौता नहुने
८ चैत काठमाडौं । अहिले चीनसँग तत्कालै बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) परियोजना कार्यान्वयन सम्झौता नहुने भएको छ। उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको चैत ११ गतेदेखि हुने चीन भ्रमणको क्रममा सम्झौता हुने चर्चा थियो। चीनले अगाडि बढाएको बीआरआई परियोजनामा नेपाल समावेश भए पनि यसको कार्यान्वयन सम्झौता हुन सकेको छैन। यसअघि नेपालले बीआरआईअन्तर्गत नौवटा परियोजना राख्ने प्रस्ताव चीनसमक्ष गरेको थियो।
आज बिहान बसेको मन्त्रिपरिषद बैठकले बीआरआई सम्झौताबारे छलफल गरे पनि कुनै निर्णय नगरेको एक मन्त्रीले बताए। ‘परराष्ट्रमन्त्रीको अहिले हुन लागेको चीन भ्रमणकै बेला बीआरआई सम्झौता हुँदैन, परराष्ट्रमन्त्री बीआरआई सम्झौता गर्न बेइजिङ जान लाग्नुभएको होइन,’ मन्त्रिपरिषद बैठक सकेर बाहिरिएका एक मन्त्रीले भने, ‘तर पछि कुनै अनुकूल समयमा बीआरआई सम्झौता हुन सक्छ, त्यो आवश्यक पनि छ।’
परराष्ट्रमन्त्री भएपछि दर्जनौँ देशका राजदूतहरूसँग भेटवार्ता गरिरहेका श्रेष्ठले ‘परराष्ट्र नीतिमा राष्ट्रिय सहमति हुनुन पर्ने’ बताउँदै आएका छन्। जुन सहमतिबाट एमसीसी, बीआरआई लगायतका भूराजनीति जोडिएका परियोजना अगाडि बढाउन सहज हुने सायद मन्त्री श्रेष्ठको संकेत थियो। परराष्ट्रमन्त्री श्रेष्ठ चैत ११ गते साता लामो चीन भ्रमणमा जाँदैछन्। बेइजिङमा १२ गते चीनका विदेशमन्त्री वाङ यीसँग दुई पक्षीय वार्ताको क्रममा नेपाल–चीनबीच बीआरआई सम्झौता पनि गर्ने तयारी थियो।