इच्छाकामना गाउँपालिका र सिएमसी अस्पताल बिच सम्झौता
९ चैत काठमाडौं । चितवन मेडिकल कलेज (सिएमसी)मा इच्छाकामना गाउँपालिकाका नागरिकहरुलाई अस्पतालको सेवामा छुट हुने भएको छ ।बुधबार इच्छाकामना गाउँपालिका र सिएमसीबीच अस्पतालका सेवामा छुट दिने सम्बन्धी सम्झौता भएको हो । सम्झौता अनुसार गाउँपालिकावासीलाई उपचारमा २० प्रतिशत छुट हुने भएको छ । गाउँपालिकाका चेपाङ समुदायलाई भने २५ प्रतिशत छुट दिने सहमति भएको छ ।
सम्झौतामा चितवन मेडिकल कलेजका प्रमुख प्रशासक प्रताप देवकोटा र गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले हस्ताक्षर गर्नुभयो । सम्झौतामा सिएमसीले ईच्छाकामनाको ईमेल मार्फत् अस्पतालमा विवरणहरु इन्ट्री गर्ने साईट उपलब्ध गराउने छ । उक्त साइटमा इन्ट्री भएका सम्पूर्ण गाउँपालिकावासीको फोटो खिचाई पालिकाले कार्ड प्रिन्ट गराउन सक्ने व्यवस्था गरिएको छ ।
सोही कार्डका आधारमा सिएमसीले उपचार सेवाहरुमा २० प्रतिशत छुट दिनेछ । तर सीमान्तकृत चेपाङ जातिको हकमा २५ प्रतिशत रकम छुट दिने सम्झौता भएको प्रमुख प्रशासक देवकोटाले जानकारी दिनुभयो । अस्पतालको फार्मेसीले ७ प्रतिशत छुट दिने पनि सम्झौतामा उल्लेख छ । इमर्जेन्सी र ओपिडी टिकमा समेत छुट लागू हुने उहाँले जानकारी दिनुभयो । कार्ड प्राप्त नभएमा वडा र गाउँपालिकाको सिफारिसमा यस्तो छुट सुविधा दिने सम्झौता भएको छ ।