थुनामा रहेका टोपबहादुर रायमाझी अस्पताल भर्ना


Capital Headline
प्रकाशित मिति : बिहिबार, चैत्र १५ २०८०
3.1K
SHARES

१५ चैत काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वउपप्रधान मन्त्री तथा नेकपा एमालेका निलम्बित सांसद टोपबहादुर रायमाझी अस्पताल भर्ना भएका छन् ।  स्वास्थ्यमा समस्या भएपछि रायमाझीलाई महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो । केन्द्रीय कारागार सुन्धारामा पुर्पक्षमा थुनामा रहेका रायमाझीलाई बुधबार अस्पताल भर्ना गरिएको जेलर कुष्णबहादुर कटुवालले अनलाइनखबरलाई जानकारी दिए । रायमाझीमा नसाको समस्या देखिएको बताइएको छ ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै भएको टगी प्रकरणमा रायमाझी, कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणसहितका १८ जनालाई पक्राउ गरेर मुद्दा चलाइएको थियो ।पक्राउ परेका १८ जनामध्ये १६ जनालाई जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले पुर्पक्षका लागि थुनामा पठाएको थियो । पक्राउ परेका सई लक्ष्मी महर्जन र टंक गुरुङ भने धरौटीमा रिहा भएका थिए ।

पछि पुनरावेदनमार्फत उच्च अदालत पाटनको आदेशमार्फत् कांग्रेस नेता खाँण भने रिहा भएका थिए । उच्च अदालतले समेत रायमाझीसहितका व्यक्तिको हकमा भने जिल्लाकै आदेश सदर गरेको थियो । उनीहरु अहिले सर्वोच्च समेत पुगेका छन् । भुटानी शरणार्थी प्रकरणमा ३० जनालाई प्रतिवादी बनाइएको थियो । उनीहरुविरुद्ध ठगी, कीर्ते, राज्यविरुद्धको अपराध र संगठित अपराधको कसुरमा गत १० जेठमा जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । २८ करोडको बिगो मागदाबी गरिएको थियो ।