महँगो ब्याजको पैसा चाँडै फिर्ता गर्छौं – अध्यक्ष अधिकारी


Capital Headline
प्रकाशित मिति : सोमबार, चैत्र १९ २०८०
3K
SHARES

१९ चैत काठमाडौं । नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीले अन्तर्राष्ट्रिय निकायहरूसँग सस्तो ब्याजमा कर्जा लिएर सञ्चय कोष र लगानी कोषको महँगो ब्याजको पैसा फिर्ता गरिने बताएका छन् । सोमबार प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा बोल्दै अध्यक्ष अधिकारीले यस्तो बताएका हुन् । उनले निगमले २०७५ असार १४ गते र २०७५ साउन ११ गते गरी दुईवटा वाइडबडी र न्यारोबडी जहाज नेपाल ल्याउनको लागि सरकारको जमानीमा कर्मचारी सञ्चय कोषबाट १२ अर्ब र नागरिक लगानी कोषबाट पनि १२ अर्ब रुपैयाँ महँगो ब्याजमा ऋण लिएर जहाज खरिद गरेको बताए ।

निमगले महँगो ब्याजदर घटाउनको लागि अन्तर्राष्ट्रिय निकायहरूसँग १ खर्ब ३५ अर्बको ऋण सहयोग माग गरेको बताए । उनले उक्त लोन २ वा ४ प्रतिशतमा पाइयो भने मँहगो ब्याजदरको पैसा र्फिता गर्ने बताए । अध्यक्ष अधिकारीले नेपाल वायुसेवा निगमको काठमाडौंको न्युरोडमा १४ रोपना ७ आना, सिनामंगलमा ३४ रोपना १३ आना जग्गा तथा अन्य १३ जिल्लामा पनि जग्गा रहेको बताए ।

उनले न्युरोड र सिनामंगलका जग्गाहरूमा निगमको आधुनिक भवनहरू बनाउने योजना रहेको बताए । उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ५० वर्ष पुरानो घामपानी छेक्ने मात्रै ह्याङ्गर भएकाले आइका र आइकाओको मापदण्डअनुसार निगमल अत्याधुनिक प्रविधिको आफ्नै ह्याङ्गर बनाउनुपर्ने आवश्यकता रहेको बताए ।

उनले त्यसको लागि निगमले डीपीआर गरेर सरकारलाई पेस गरेर आर्थिक सहयोग जुटाईदिन माग समेत गरेको बताए। उनले यो विषयमा लगानी बोर्डले पनि चासो राखेको बताए । उनले दुवैतिरको भवन बनाउँदा करिब १० अर्ब भन्दा बढी रकम लाग्ने अनुमान रहेको बताए । उनले निमगको ह्याङ्गर बनाउनको लागि मात्र ५ अर्ब बढी रकम लाग्ने अनुमान रहेको बताए ।