बैंकिङ प्रणालीबाट एकैदिन बाहिरियो रु. ९२ अर्ब


Capital Headline
प्रकाशित मिति : शुक्रबार, चैत्र २३ २०८०
2.4K
SHARES

२३ चैत काठमाडौं । बैंकिङ प्रणालीबाट एकैपटक ९२ अर्ब रुपैयाँ बाहिरिएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार बैंकिङ प्रणालीबाट चैत २० गते एकैदिन ९२ अर्ब रुपैयाँ बाहिरिएको हो। तथ्यांकअनुसार चैत २० मा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ६१ खर्ब ७ अर्ब रुपैयाँ रहेको छ। अघिल्लो दिन चैत १९ गते बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ६१ खर्ब ९९ अर्ब रुपैयाँ रहेको थियो। अर्थ मन्त्रालयले निर्देशनमा केही दिनअघि वाणिज्य बैंकहरुले निक्षेप रुपमा गणना गर्दै आएको स्थानीय तहको पैसा रोकेको थियो। योसँगै वाणिज्य बैंकहरुले निक्षेपका रुपमा गणना गर्दै आएको स्थानीय तहको ९६ अर्ब रुपैयाँ राष्ट्र बैंकले तोकेको थियो। सोही कारण एकैदिन यति धेरै निक्षेप बाहिरिएको हो।

चैत २० मा वाणिज्य बैंकहरुको कुल निक्षेप पनि ९१ अर्ब रुपैयाँले घटेर ५३ खर्ब ९४ अर्ब रुपैयाँमा झरेको छ। अघिल्लो दिनसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ५४ खर्ब ८५ अर्ब रुपैयाँ थियो।चैत २० सम्म बैंक तथा वित्तीय संस्थाहरुले ५० खर्ब ८८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्। अघिल्लो दिन पनि बैंकहरुको कुल कर्जा लगानी ५० खर्ब ८८ अर्ब रुपैयाँ नै रहेको थियो। ठूलो परिमाण निक्षेप बाहिरिएसँगै बैंक तथा वित्तीय संस्थाहरुको औसत सीडी रेसियो चैत २० बढेर ८०.८६ प्रतिशत र अन्तरबैंक ब्याजदर ३.५३ प्रतिशत कायम भएको छ। अघिल्लो दिनसम्म औसत सीडी रेसियो ७९.६९ प्रतिशत र अन्तरबैंक ब्याजदर २.७५ प्रतिशत थियो।