निजी क्षेत्रमा जाने कर्जामा २ खर्बको बढोत्तरी


Capital Headline
प्रकाशित मिति : शनिबार, चैत्र २४ २०८०
1.9K
SHARES

२४ चैत काठमाडौ । चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा करिब २ खर्बले बढेको छ। राष्ट्र बैंकका अनुसार १ खर्ब ९९ अर्ब ५० करोड (४.२ प्रतिशत) ले बढेको देखिएको हो। अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १ खर्ब २८ अर्ब १८ करोड (२.८ प्रतिशत) ले बढेको थियो। वार्षिक विन्दुगत आधारमा २०८० फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ५.२ प्रतिशतले बढेको छ।

फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर– वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३.२ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.८ प्रतिशत छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६४.६ प्रतिशत र ३५.४ प्रतिशत रहेको थियो। निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ४.२ प्रतिशतले, विकास बैंकहरुको ३.५ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह ३.९ प्रतिशतले बढेको छ।

फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ११.७ प्रतिशत कर्जाको लागि चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) सुरक्षणको रुपमा रहेको छ भने ६७.५ प्रतिशत कर्जाको लागि घर जग्गा धितो सुरक्षण रहेको छ।