घट्दो क्रममा बैंकको ब्याजदर
२७ चैत काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनायता बैंकहरूको ब्याजदर घट्दै गएको छ । बजार चलायमान नहुँदा बैंकहरूले दिने कर्जाको माग पनि कम छ । त्यसका साथै बैंकहरूसँग प्रयाप्त पैसा भएपछि लगानी गर्न सक्ने अवस्थामा छैनन् । पुरानो कर्जा उठाउन नसक्दा अहिले अधिकांश बैंकहरू पुँजीकोष दबाबमा छन् ।
त्यसले पनि बैंकहरूको ब्याजदर सस्तो छ । आगामी वैशाखमा पनि अधिकांश बैंकहरूले ब्याजदर घटाउने संकेत देखाएका छन् ।अहिले गत वर्षको तुलनामा बैंकहरूले प्रवाह गर्ने कर्जा र संकलन गर्ने निक्षेपको ब्याजदर सस्तो छ । साउनदेखि नै ब्याजदर क्रमशः घट्दै आएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार फागुनमा बैंकहरूले प्रवाह गर्ने कर्जाको औसत ब्याजदर १०.७८ प्रतिशत छ । गत वर्षको फागुनमा १३.०३ प्रतिशत थियो ।अघिल्लो महिना माघमा कर्जाको ब्याजदर ११.०८ प्रतिशत थियो । गत वर्षको माघमा पनि कर्जाको ब्याजदर १३.०३ प्रतिशत नै थियो ।