स्वार्थ समूहको इशारामा अहिलेको बजेट बन्दैन – अर्थमन्त्री पुन
२९ चैत काठमडौं । अर्थमन्त्री वर्षमान पुनले कसैबाट प्रभावित नभई निष्पक्ष भएर भावी पुस्तालाई समेत लाभ पुग्ने गरी बजेट बन्ने बताएका छन् । स्वार्थ समूह वा चिने जानेका व्यक्तिको लाभ र हानिलाई हेरेर कुनै पनि नीतिगत तथा कानुनी सुधार नगर्ने मन्त्री पुनले बताए । बुधबार नेपाल उद्योग वाणिज्य महासंघको ५८ औँ वार्षिक साधारण सभामा देश बिग्रिएको वा सुध्रिएको जुन स्थितिमा रहेपनि त्यसको जिम्मा सरकारमा रहेका राजनीतिक दलको हुने उल्लेख गर्दै उनले आफू मन्त्री रहँदासम्म जिम्मेवारीपूर्वक भावी पुस्तालाई हेरेर नीति बनाउने दाबी गरे ।
‘हामी स्थायी रूपले प्रधानमन्त्री, मन्त्री छैनौँ तर जति दिन कुर्सीमा बस्छौँ, जिम्मेवारीपूर्वक भावी पुस्तालाई हेरेर नीति बनाउनै पर्छ । त्यो जिम्मेवारी हामीमा छ र त्यो पूरा गर्ने प्रतिबद्धता म गर्छु । म कोही उद्योगी साथीहरू, चिनेका र नजिककोलाई हेरेर नीति बनाउँदिन । यो मेरो प्रतिबद्धता भयो । मबाट कसैलाई लाभ,हानी हुने खालको काम बजेट नीतिमा र कर नीतिमा हुँदैन’ पुनले भने । गत वर्षको तुलनामा अर्थतन्त्रमा सुधार भएको बताएका मन्त्री पुनले विश्व भू-राजनीतिक अवस्था र शक्ति सन्तुलनमा आइरहेको फेरबदलको प्रभाव अर्थतन्त्र र राजनीतिमा परेको भन्दै उनले सो बारे गम्भीर समीक्षा गर्नुपर्ने धारणा राखे ।
उनले भने, ‘हाम्रो अर्थतन्त्रमा गत वर्ष समस्याहरू थिए, अहिले अलिकति सुधार भएको छ । अहिले हामी सस्तो लोकप्रिय कुरा गर्ने र ताली खाने अवस्थामा छैनौँ । विश्व भू–राजनीतिक अवस्था र शक्ति सन्तुलनमा आइरहेको फेरबदलले नेपालको राजनीति, अर्थतन्त्रलगायत धेरै विषयलाई हेरफेर गर्दै छ । यो सन्दर्भमा देशभरि नै निजी क्षेत्रका प्रतिनिधि साथीहरूले बहस गरिराख्दा यो परिदृश्यले हामीलाई के असर पर्छ भनेर गम्भीर समीक्षा गर्नुपर्छ ।’