सन्तान भर्ना सामुदायिक विद्यालयमा


Capital Headline
प्रकाशित मिति : बिहिबार, चैत्र २९ २०८०
2.9K
SHARES

२९ चैत काठमाडौं । आगामी शैक्षिक सत्रका लागि भर्ना अभियान सुरु हुन करिब एक साता मात्र बाँकी रहँदा सिन्धुलीका स्थानीय सरकारले जनप्रतिनिधि र कर्मचारीहरूले आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा अनिवार्य भर्ना गराउनुपर्ने निर्णय गर्न थालेका छन्। जिल्लाको कमलामाई नगरपालिका, तिनपाटन गाउँपालिका र मरिण गाउँपालिकाले गाउँ कार्यपालिकाबाट निर्णय गर्दै पालिका मातहतका कर्मचारी, जनप्रतिनिधि तथा सरकारी सेवा सुविधा लिनेका छोराछोरीलाई आगामी शैक्षिक सत्रबाट अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गर्न निर्देशन जारी गरेका हुन्।

पालिकाको निर्णयको बर्खिलाप गरे कारबाही गरिने समेत चेतावनी दिइएको छ। कमलामाई नगरपालिकाले झण्डै एक महिना अघि यस्तो निर्णय गरेपछि मरिण गाउँपालिकाले गत १९ गते र तिनपाटन गाउँपालिकाले बुधबार सूचना जारी गर्दै यस्तो निर्देशन दिएका हुन्। शैक्षिक सत्रका लागि आउँदो वैशाख १ गतेबाट नयाँ भर्ना अभियान सुरु हुँदै छ। तिनपाटन गाउँपालिकाको यही चैत २० गते बसेको कार्यपालिकाको बैठकको निर्णय अनुसार पालिकाका जनप्रतिनिधि, शिक्षक, कर्मचारी लगायत सार्वजनिक पद धारण गरेका व्यक्तिहरूले आगामी शैक्षिक सत्रबाट आफ्ना बालबालिकाहरूलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गराउनु पर्ने निर्णय गरेको छ।

दुई नगरपालिका र सात गाउँपालिकासहित नौवटा स्थानीय तह रहेको सिन्धुलीका तीनवटा पालिकाले यस्तो निर्णय गरेका छन्। कमलामाई नगरपालिकाले निर्णय कार्यान्वयन नभए तलब रोक्का गर्नेदेखि कारबाही गरिने चेतावनी दिएको छ । सामुदायिक विद्यालयको व्यवस्थापन, अनुशासन, गुणस्तर सुधार नगरी स्थानीय सरकारले हचुवाको भरमा निर्णय गरेर बालबालिकाको भविष्यमाथि खेलबाढ गरेको अभिभावकहरूले गुनासो गरेका छन्।