लगानी सम्मेलनको कार्यतालिका यस्तो छ


Capital Headline
प्रकाशित मिति : आइतबार, बैशाख १६ २०८१
3K
SHARES

१६ वैशाख काठमाडौ । आइतबारदेखि सुरू भएको तेस्रो लगानी सम्मेलनको पहिलो दिन उद्घाटन सत्रका साथै सम्मेलनमा सहभागी अतिथिलाई सम्मान र विभिन्न सत्रहरु सञ्चालन हुँदै छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट उद्घाटन भएको सम्मेलनमा अर्थमन्त्री वर्षमान पुनले स्वागत मन्तव्य दिएका छन् भने सम्मेलनको प्रतीक चिह्न (लोगो) प्रदर्शनी गरिएको छ । लगानी सम्मेलनसम्बन्धी भिडियो सन्देशसहितका सामग्री प्रदर्शनीमा राखिएको छ ।

उद्घाटन सत्रमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र निजी क्षेत्रका प्रतिनिधिले पनि मन्तव्य दिने कार्यक्रम छ ।

उद्घाटन सत्रकै क्रममा केही महत्वपूर्ण परियोजनाको सहमति पत्रमा हस्तक्षार र लगानी घोषणा हुने कार्यक्रम रहेको छ । सम्मेलनको विषयगत छलफल सत्रका क्रममा ‘नेपालमा लगानीका अवसरहरू’, ‘नेपालमा लगानीका सफलताका कथा’, ‘आशयपत्रका लागि परियोजनाहरुको प्रस्तुति (सोकेसिङ)’ गर्ने कार्यक्रम छ ।

‘नेपालमा लगानीका अवसरहरू’ विषयक सत्रमा अर्थमन्त्री वर्षमान पुन, पूर्वअर्थमन्त्री डा प्रकाशशरण महत, डा युवराज खतिवडा, पूर्वअर्थसचिव रामेश्वर खनाल, नेपालका लागि संयुक्त राष्ट्रस‌ंघीय कार्यालयका प्रतिनिधि हाना सिङ्गरलगायत वक्ता रहेका छन् ।