अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन् – अर्थमन्त्री पुन


Capital Headline
प्रकाशित मिति : शुक्रबार, बैशाख २१ २०८१
3.9K
SHARES

२१ वैशाख काठमाडौ । अर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन थालेको बताएका छन् । ‘दिगो विकासका लागि वित्त नीति’ विषयक कार्यशालालाई सम्बोधन गर्दै अर्थमन्त्री पुनले गत वर्षको तुलनामा अर्थतन्त्रमा सकारात्मक संकेत देखा परेका बताएका हुन् ।काठमाडौंमा बुधबार आयोजित कार्यषक्रममा मन्त्री पुनले विश्व बैंकले चालु आर्थिक वर्षमा ३.३ प्रतिशत, एसियाली विकास बैंकले ३.६ प्रतिशत र राष्ट्रिय तथ्यांक विभागले ३.८७ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरे पनि अर्थ मन्त्रालयले ४.५ प्रतिशतभन्दा बढी आर्थिक वृद्धि हुने अनुमान गरेको बताए ।

‘हाम्रो अर्थतन्त्रमा थोरै शिथिलता छ । स्वाभाविक रूपमा यसका आन्तरिक र बाह्य कारण छन् । तथ्यांकहरूले बिस्तारै सुधार देखाएको छ,’ मन्त्री पुनले भने, ‘विश्व बैंकले ३.३ प्रतिशत, एडीबीले ३.६ प्रतिशत र हिजो मात्रै राष्ट्रिय तथ्यांक विभागले ३.८७ प्रतिशतको आर्थिक वृद्धि हुन्छ भनेको छ । यो नौ महिनाका प्रक्षेपण हुन् । आर्थिक वर्ष अझै तीन महिना बाँकी छ । केही पुँजीगत खर्च हुन्छ । हामीले केही सकारात्मक प्रयत्न गरेका छौं । अर्थ मन्त्रालयको तर्फबाट ४.५ प्रतिशतभन्दा बढीको आर्थिक वृद्धि हुन्छ भन्ने अनुमान हो ।’ अर्थतन्त्रमा सुधार देखिए पनि ढुक्क भएर अर्थतन्त्र राम्रो भयो भन्ने अवस्थामा नरहेको अर्थमन्त्री पुनको भनाइ थियो ।

विश्वको आर्थिक र राजनीतिक केन्द्र, श्रम बजारको अवस्था, श्रम शक्ति, आन्तरिक प्राकृतिक श्रोत तथा भूराजनीतिमा टेकेर आर्थिक नीति बनाउनुपर्नेमा अर्थमन्त्री पुनको जोड थियो । नेपाल विश्व अर्थतन्त्रका दुई उदयीमान हस्तीहरू भारत र चीनको बीचमा रहेकाले ती मुलुकको बजार हेरेर नीति बनाउनुपर्नमा सरकार रहेको उल्लेख गरे । भारत र चीनबाट ठूलो संख्यामा मध्यम वर्ग भ्रमणमा निस्कने गरेको तथ्यांक प्रस्तुत गर्दै उनले नेपालमा पर्यटनको प्रचुर सम्भावना रहेको औंल्याए ।

आर्थिक शिथिलताकै बीचमा पनि चालु आर्थिक वर्षमा होटल तथा पर्यटन क्षेत्रमा २१ प्रतिशत र ऊर्जा क्षेत्रमा १७ प्रतिशतको आर्थिक वृद्धि भएको पुनले जानकारी दिए । निर्माण क्षेत्रमा भने नकारात्मक अवस्था रहेकाले त्यसमा सुधार गर्न सरकार प्रयासरत रहेको उनको भनाइ थियो ।नेपालमा राजनीतिक अस्थिरताका कारण विकास हुन सकेन भन्ने स्वीकार्न आफू तयार नरहेको पनि मन्त्री पुनको भनाइ थियो । वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल पहिलो पटक प्रधानमन्त्री हुँदा ०६४ सालमा अख्तियार गरिएको ऊर्जासम्बन्धी नीतिको निरन्तरताका कारण नेपालले भारत र बंगलादेशमा विद्युत् निर्यात गर्न सक्ने अवस्था आएको पुनको भनाइ थियो । ‘प्रचण्ड नेतृत्वको पहिलो गणतान्त्रिक सरकारले ऊर्जा क्षेत्रमा लिएको नीतिको निरन्तरता अझै छ । यो बीचमा १५ वटा सरकार फेरिए होलान् तर नीति फेरिएको छैन,’ मन्त्री पुनले भने, ‘नेपालमा स्थिरता छैन भन्ने हल्ला सरकार, निजी क्षेत्र, सञ्चार माध्यम र बौद्धिक व्यक्तित्वहरू मिलेर चिनुपर्छ ।’

मन्त्री पुनले नेपालमा सूचना प्रविधि र कृषि क्षेत्रमा पनि राम्रो सम्भावना रहेको बताए । नेपालमा वैदेशिक लगानीको समेत राम्रो सम्भावना रहेको उनको भनाइ थियो । वातावरण राम्रो भएकै कारण बहुराष्ट्रिय कम्पनीहरू नेपालमा लगानी गर्न आइरहेको उल्लेख गरे । हालसम्म नेपालमा लगानी गरेका कम्पनीहरूले घाटा ब्यहोरेको आफूले थाहा नपाएको चर्चा गर्दै उनले त्यही नै नेपालमा वैदेशिक लगानीका लागि उपयुक्त वातावरण भएको प्रमाण रहेको बताए ।