आज भन्दा भोलि वर्षाको सम्भावना बढी, काठमाडौंमा के छ स्थिति ?


Capital Headline
प्रकाशित मिति : आइतबार, बैशाख २३ २०८१
7.3K
SHARES

२३ वैशाख काठमाडौं । आउँदो साता देशका केही स्थानमा ‘मध्यम’सम्म वर्षाको सम्भावना छ । आज भन्दा भोलि सोमबार वर्षाको सम्भावना बढी रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

वर्षा हुने मौसमी गतिविधि सोमबारदेखि बढ्ने महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले बताए । “सोमबारदेखि रेनफल (वर्षा)को गतिविधि बढ्ने देखिन्छ,” उनले भने, “आइतबारभन्दा सोमबार वर्षाको सम्भावना बढी छ । केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनसक्छ ।”

बिहीबार र शुक्रबार को तुलनामा मौसममा प्रभाव भने शनिबार नै परिसकेको उनले बताए । यस दिन बादल बढेको र तुलनात्मक रूपमा तापक्रम घटेको उनले जानकारी दिए ।आजै बादल लागेको छ, शीतल भएको छ,” उनले भने, “बदलीका कारण हिजोअस्तिभन्दा तापक्रम घटेको छ ।”

आइतबार देशका धेरै स्थानमा बदली (आकाशमा बादल)को भने सम्भावना रहेको उनले बताए । “भोलि (आइतबार) दिउँसो कोसी प्रदेशका थोरै र अरू एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । ठूलो वर्षा होइन,” उनले भने, “भोलि दिउँसो तराईका केही स्थानमा हावाहुरीको सम्भावना पनि छ ।”

तुलनात्मक रूपमा सोमबारदेखि वर्षाको सम्भावना बढी रहेको उनले प्रस्ट पारे । आउँदो बुधबार, बिहीबार वर्षाको सम्भावना अझ बढी रहेको उनको भनाइ छ ।