मेलम्ची पानी यो बर्खामा पनि नआउने
२७ वैशाख काठमाडौं । काठमाडौं उपत्यकामा आइरहेको मेलम्ची खानेपानी वर्षा सुरु भएपछि नआउने भएको छ ।मेलम्ची खानेपानी आयोजनाले उपत्यकामा पानी सुरुङमार्फत पठाउन प्रयोग हुने मुख्य स्थान हेडवर्क्स नै स्थायीरूपमा निर्माण गर्न नसक्ने भएपछि बाह्रै महिना मेलम्ची पानी उपत्यका ल्याउने योजना अधुरो हुने देखिएको हो ।सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमा मेलम्ची आयोजनाको अस्थायी मुहान स्तरोन्नति गरी बाह्रै महिना खानेपानी आपूर्ति गर्ने व्यवस्था मिलाइने घोषणा गरेको थियो । तर, यो पटक पनि वर्षामा पानी नआउने पक्कापक्की भएको छ ।
१ असार २०७८ को बाढीले निर्माण सकिएको पानी छान्ने संयन्त्रसहित पक्की हेडवर्क्स पुरेपछि वर्षैपिच्छे वर्षायाममा सुरुङको मुख बन्द गर्ने र हिउँदमा खोलाको पानी सोझै सुरुङमा हालेर काठमाडौं ल्याउने गरिएको छ, तर यसपटक पनि त्यस्तै हुने भएको हो ।
३२ अर्ब खर्च भइसकेको आयोजनाको २७ किलोमिटर लामो सुरुङमा बाढीले पुर्याउन सक्ने जोखिमलाई हेरेर वर्षायाममा मेलम्ची पानी ल्याउने नमिल्ने अयोजनाले नै जनाएको छ ।
मेलम्ची खानेपानी आयोजना प्रवक्ता राजेन्द्र पन्तका अनुसार बाढीले क्षति पुर्याएपछि अहिले अस्थायी हेडवर्क्स मार्फत पानी सुरुङबाट पठाइरहेको छ ।
अहिले विकल्पका रूपमा रहेको हेडवर्क्सबाट काम चलाउ मात्रै पानी पठाइरहेको छौं । बाह्रै महिना पानी पठाउन सुरक्षित स्थानमा हेडवर्क्स सार्नुपर्छ । त्यसका लागि सरकारले निर्णय गर्नुपर्छ । त्यसपछि फेरि नयाँ स्थानान्तरण हुने स्थान अध्ययन हुन्छ र लागत अनुमान, निर्माण हुने मिति थाहा हुन्छ,’ पन्तले अनलाइनखबरसँग भने, ‘अनि मात्रै निर्माणका लागि ठेक्का दिएर काम सुरु हुन्छ । यो वर्ष अहिलेसम्म स्थानान्तरण हुने निर्णय नभएकाले पानी वर्षामा आउने सम्भावना छैन ।’
पन्तका अनुसार अहिले दैनिक १७ करोड लिटर पानी उपत्यकामा आइरहेको छ । १ असार २०७८ मा बाढी आउनु अगाडि आयोजनाको हेडवर्क्स तयार हुनासथा बाढीले क्षति पुर्याएपछि अस्थायी संरचना निर्माण गरेर पानी सुरुङमार्गमा पठाउने गरिएको थियो ।
फेरि साउन २०८० मा आएको बाढीका कारण पहिलेको अस्थायी संरचनामा क्षति पुग्यो । ‘वर्षामा अस्थायी हेडवर्क्समा पनि क्षति पुग्ने भएपछि स्थायी नबनाएसम्म ठूलो वर्षाको अनुमान हुने बित्तिकै सुरुङ बन्द गर्नुपर्छ,’ उनी भन्छन् ।
हेडवर्क्स सार्न मन्त्रालयले अहिलेसम्म कुनै पनि निर्णय भने गर्न सकेको छैन । खानेपानी मन्त्रालयका प्रवक्ता मिरा श्रेष्ठका अनुसार मन्त्रालयले यसबारे छलफल गरिरहे पनि निर्णय नगरिसकेको बताइन् । ‘मेलम्ची खानेपानीको अध्यक्ष सचिवज्यू नै हुने भएकाले उहाँलाई थाहा होला, तर हेडवर्क्स सार्ने निर्णय भने अहिलेसम्म भएको छैन,’ उनले भनिन् ।