देशभर वर्षा हुने, एक/दुई स्थानमा भारी वर्षा
३० वैशाख काठमाडौं । गएको आइतबारयता देशका धेरै स्थानमा वर्षा भएको छ । शनिबार पनि लुम्बिनी, कर्णाली, गण्डकी प्रदेशलगायत स्थानमा वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जानकारी गराएको छ ।
शनिबारको तुलनामा आइतबार वर्षाको सम्भावना बढी छ । हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आइतबार कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाका मौसमविद् गोविन्द झाले जानकारी दिए ।
“आजभन्दा भोलि वर्षाको सम्भावना बढी छ । हावाहुरी, मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना छ,” उनले भने, “देशभर बदली (आकाशमा बादल) हुनेछ । अधिकांश स्थानमा वर्षाको सम्भावना छ । कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।”
आइतबार काठमाडौंमा पनि वर्षाको सम्भावना रहेको उनले बताए । काठमाडौंमा दिउँसोतिर वर्षाको सम्भावना रहेको उनले जानकारी दिए ।
“भोलि काठमाडौंमा पनि वर्षाको सम्भावना छ । बिहान ९–१० बजेतिर प्रणाली विकास हुने र दिउँसोतिर वर्षा हुने देखिन्छ । साँझतिर पनि केही सम्भावना छ,” उनले भने, “हल्कादेखि मध्यम वर्षा हुनसक्छ ।”