१० महिनामा ४० हजार ऋणी ‘ब्लाकलिस्टेड’


Capital Headline
प्रकाशित मिति : मंगलबार, जेष्ठ ८ २०८१
3.8K
SHARES

८ जेठ काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर नतिरेपछि दैनिक कालोसूचीमा पर्नेको संख्या बढ्दै गएको छ । कर्जा सूचना केन्द्रका अनुसार चालु आर्थिक वर्षको १० महिनामा मात्रै ४० हजारभन्दा बढी ऋणी, संस्था तथा व्यक्तिहरू कालोसूचीमा परेका छन् ।केन्द्रका अनुसार १० महिनाको अवधिमा ४० हजार ३४ ऋणी, संस्था तथा व्यक्तिहरू कालोसूचीमा परेका छन् । वैशाख मसान्तसम्म एक लाख १५ हजार ४८ ऋणी, संस्था तथा व्यक्तिहरू कालोसूचीमा परेको केन्द्रको तथ्यांकमा उल्लेख छ

गत आर्थिक वर्षको अन्त्यसम्म ७५ हजार १४ ऋणी कालोसूचीमा परेका थिए । गत आर्थिक वर्ष ३४ हजार ८१ ऋणी संस्था तथा व्यक्तिहरू कालोसूचीमा परेको केन्द्रले जनाएको छ । कालोसूचीमा पर्नेमा व्यावसायिक संस्था तथा व्यवसायीहरू र तीनका जमानी बस्नेहरू रहेको कर्जा सूचना केन्द्रले जनाएको छ ।

पछिल्लो पाँच वर्षको तथ्यांकअनुसार कालोसूचीमा पर्ने लगातार बढ्दै गएका छन् । आर्थिक वर्ष २०७५/७६ मा दुई हजार ८३७ ऋणी संस्था र व्यवसायीहरू कालोसूचीमा परेका थिए । तर त्यसयता कालोसूचीमा पर्नेको संख्या लगातार बढ्दो छ । अहिले दैनिक ३०० संख्या हाराहारी कालोसूचीमा पर्ने गरेको छ । केन्द्रका अनुसार २०७६/७७ मा ४ हजार ६२०, आर्थिक वर्ष २०७७/७८ मा ६ हजार ५१४ र आर्थिक वर्ष २०७८/७९ मा १५ हजार ९९५ ऋणीहरू कालोसूचीमा परेका थिए ।

हालसम्म कालोसूचीमा पर्नेको संख्या एक लाख १६ हजार २० पुगेको केन्द्रले जनाएको छ ।आर्थिक मन्दीमा कारण पछिल्लो समय कालोसूचीमा पर्नेको संख्या दिनहुँ बढिरहेको छ । आर्थिक गतिविधि चलायमान हुन नसक्नु र व्यवसाय धरासायी बन्नुको मुख्य कारण कालोसूचीमा पर्नेको संख्या दिनहुँ बढिरहेको छ । विभिन्न प्रतिकूल कारणले उद्यम–व्यवसायले कर्जा समयमा तिर्न नसक्ने र बैंकहरूले धितो लिलामी गर्ने प्रक्रिया सुरु गर्दा पनि कतिपय ऋणी तथा संस्था कालोसूचीमा पर्ने गरेका छन् ।