चालू आर्थिक वर्षमा घटेको बजेट खर्बले बढ्ने , कतिको आउदै छ बजेट ?
१५ जेठ काठमाडौं । सरकारले चालू आर्थिक वर्षमा घटेको बजेट खर्ब रुपैयाँले बढाएर ल्याउने तयारी गरेको छ। तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले ल्याएको बजेटको तुलनामा डा. प्रकाशशरण महतले घटाएका थिए। आर्थिक वर्ष ०८०/०८१ का लागि महतले १७ खर्ब ५१ अर्ब ३१ करोड विनियोजन गरे त्यसअघि तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड विनियोजन गरेका थिए। तर महतले आर्थिक गतिविधिमा कमी आएको भन्दै ४२ अर्बले बजेट घटाएर ल्याएका थिए।
योजना आयोगको उपाध्यक्ष संयोजक हुने राष्ट्रिय स्रोत अनुमान समितिले आगामी आवमा सरकारलाई १८ खर्ब रुपैयाँको सिलिङ तोकिदिएको छ। तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदीय दलको बैठकमा गत वैशाख २२ गते १९ खर्बको बजेट ल्याउने ‘ब्रिफिङ’ गरेका थिए। प्रधानमन्त्रीकै चाहनापछि अर्थमन्त्री वर्षमान पुनलाई स्रोत अभावका बीच ठूलो बजेट ल्याउने दबाब छ। यद्यपि अर्थमन्त्री पुनले योजना आयोगको सिलिङअनुसार नै बजेट आउने दाबी गरेका छन्।
नीति तथा कार्यक्रम पारित भएपछि आइतबार संसदबाहिर मन्त्री पुनले भनेका थिए, ‘योजना आयोगले १८ खर्बको बजेट सिलिङ तोकेको छ। त्यसकै आधारमा बजेट तयार गरिरहेका छौँ।’ अर्थमन्त्रीले १८ खर्ब हाराहारी भने पनि १९ खर्ब हाराहारी पुग्ने अनुमान छ। बजेटमा नयाँ कार्यक्रमसँगै अहिलेकै कार्यक्रमलाई निरन्तरता दिन बजेटको आकार बढाउनुपर्ने दबाब छ।
सरकारले हरेक वर्ष स्रोतको अनुपातमा धेरैको बजेट ल्याउँदा दायित्व नै ६ खर्ब बढी छ। ‘अर्थमन्त्रीका रुपमा बजेट बनाइराख्दा तीन/चार वर्षअघिका अर्थमन्त्रीका पालादेखिको ६ खर्ब दायित्व बोक्नुपर्ने अवस्थामा छु’, मन्त्री पुनले एक कार्यक्रममा भने, ‘एक वर्षको बजेट बनाउनुपर्ने अर्थमन्त्री चार वर्षदेखिको दायित्व बोक्नुपर्ने अवस्थाले म त्यति स्वतन्त्र छैन।’
अर्थ मन्त्रालयले कमजोर आर्थिक गतिविधि रहेको अवस्थालाई चलायमान बनाउने गरी बजेट ल्याउने उल्लेख गरेको छ। नियमभित्र यथार्थको धरातलमा बसेर अधिकतम राम्रो बजेट ल्याउने मन्त्री पुनको भनाइ छ। उनले विगतमा पूर्वाधारलाई आर्थिक क्रियाकलापसँग नजोड्ने गरिएको चर्चा गर्दै हुलाकी राजमार्ग, निर्माणाधीन मध्यपहाडी राजमार्ग र ठूलो स्रोत लगानी गरेर निर्माण गरिएको कर्णाली करिडोर आसपास क्षेत्रमा नयाँ आर्थिक केन्द्र, कृषि उत्पादनको पकेड क्षेत्र र नयाँ पर्यटकीय गन्तव्य बनाउने गरी बजेट ल्याउने बताउने गरेका छन्।