मैले नेकपा एस छाडिसकेँ – प्रेम आले
५ कार्तिक काठमाडौं । सांसद प्रेम आलेले आफूले नेकपा एकीकृत समाजवादी पार्टी छाडिसकेको बताएका छन् । नेकपा एस छाडिसकेको भन्दै अहिले आफू तटस्थ रहेको उनले बताए ।आलेले भने, ‘म अहिले एमालेमा पनि जाँदिनँ, कांग्रेसमा पनि जाँदिनँ । नेकपा एस छाडिकेको छु । अहिले म तटस्थ छु । कतै जाने सोचेको छैन । मैले नेकपा एसको त महाधिवेशन नै बहिष्कार गरेँ । त्यहाँ त म रहँदै रहन्नँ ।’
तर, तपाईं एमालेमा जाने तयारी भइरहेको बताइन्छ नि भन्ने जिज्ञासामा उनले थपे, ‘जाँदिनँ, जाँदिनँ, एमालेमा कुनै हालतमा गइन्नँ । त्यो पार्टी छाडेर आएको फेरि त्यो पार्टीमा किमार्थ जान्नँ ।’
उनले आफू एक्लै रहेको भन्दै नेकपा एसका अरु नेताहरूको बारेमा थाहा नभएको बताए ।नेकपा एसमा आलेसहित एमालेबाट अलग्गिँदा माधव नेपाललाई काँध थापेका नेताहरू रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ, कृष्णबहादुर श्रेष्ठ, शेरबहादुर कुँवरलगायतका नेता यतिबेला असन्तुष्ट छन् ।
प्रधानमन्त्री केपी ओलीले नेकपा एसलाई लक्षित गर्दै राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेको चर्चा छ । त्यही विषयमा हिजो कांग्रेस सभापति शेरबहादुर देउवासहित एमाले-कांग्रेसको शीर्ष तहमा छलफल भएको बताइन्छ ।