रविमाथि प्रधानमन्त्री ओलीको प्रहार – खाने बेलामा आँखा नदेख्ने


Capital Headline
प्रकाशित मिति : आइतबार, कार्तिक ११ २०८१
4.5K
SHARES

११ कार्तिक काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध तिखो टिप्पणी गरेका छन् । आज एक कार्यक्रममा बोल्दै उनी विपक्षी दल रास्वपामाथि खनिएका थिए ।

राष्ट्रिय सुरक्षा तथा विकासमा भूपू सुरक्षाकर्मीहरुको भूमिका विषयक विचार गोष्ठीमा ओलीले राजनीतिक प्रचण्ड र लामिछानेलाई निशाना बनाए ।

अहिले अराजकता फैलाउने प्रयास बेस्सरी भएको छ । अदालतअगाडि गएर उफ्रिएको छ, दवाव दिएको छ, कराएको छ । हाम्रो मान्छे छोड्दे भन्ने एउटा कुरा हुन्छ, अरुलाई तथानाम गाली गरेको छ, असभ्यता देखाएको छ । साह्रै घिनलाग्दो स्तरमा झरेको छ । त्यस्तोमा फेरि माननीय सांसद भनिएकाहरु छन् । कोही चुनेका, कोही टिपेका, विभिन्न खालका । भेट्दा माननीय भन्नुपर्छ, बोलि सुन्दाखेरी अचम्म लाग्छ ।

हुन त दुई चार हजारको जुलुस निस्किएपछि भरे नै गयो सरकार भोलि नै गयो सरकार… । खाने बेलामा आँखा नदेख्ने… खुर्सानी चपायो भने पिरो हुँदैन ? खाने बेलामा आँखा नदेख्ने, अहिले अरुलाई गाली गर्ने, अन्याय भो भन्ने ? फेरि न्याय दिने काम त मेरो होइन । छानविन गर्ने काम पनि मेरो होइन । त्यसको लागि निकायहरु छन् ।

अहिलेको सरकारले कसैलाई पनि समात, छोड, निकाल, उकास जस्ता कुराहरु गर्दैन । यो निस्पक्ष सरकार हो ।