सूर्य देवतालाई अर्घ्य चढाएपछि सकियो छठ
२३ कार्तिक जनकपुरधाम । उदाउँदै गरेको सूर्यलाई व्रतालुले जलाशयबाट अर्घ्य चढाएपछि महापर्व छठ सकिएको छ । बिहीबार अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिएका व्रतालुहरूले आज बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ चढाएका हुन् ।
सूर्य देवको प्रतीक्षामा व्रतालुहरू जलाशयमा प्रसादीसहित हात जोडेर लामो समय प्रतीक्षा गरेका थिए । सूर्य देखा परेसँगै प्रसाद चढाए । अब छठ घाटबाट घर पुगेपछि व्रतालुले चढाएका प्रसाद सपरिवार ग्रहण गर्छन् ।
सूर्य देवता र छठी मातालाई पूजापाठ र अर्घ्य दिनका लागि गहुँ वा चामलको पिठोबाट बनाएको ठेकुवा चढाइन्छ । यस्तै पातसहितको मुला, अदुवा र बेसारको हरियो बेर्ना, ज्यामिर, नरिवल, सुन्तला, केरा, स्याउ, पानीसिंगडा, सुथनी, उखु लगायतका फलफूल पनि चढाउने गरिन्छ ।
कात्तिक शुक्ल षष्ठी र सप्तमीका दिन सूर्यलाई देवताको रुपमा विशेष विधिपूर्वक अर्घ्य दिएर छठ पर्व मनाइन्छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइनुको साथै सन्तान सुख प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास रही आएको छ ।