पार्टीलाई रुपान्तरण गरेर अघि बढाउनु पर्छ – वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले विचार र सिद्धान्त त्यागेर अरु पार्टी जस्तै बने माओवादीको औचित्य सिद्धिने टिप्पणी गरेका छन् ।चितवनका अगुवा कार्यकर्ताको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको राष्ट्रिय कार्यभार पूरा गर्ने क्षमता माओवादीसँग मात्रै भएकाले पार्टीलाई पनि रुपान्तरण गरेर अघि बढाउनुपर्ने बताए ।
उनले भने, ‘अहिलेको अवस्थामा हामीले राष्ट्रिय कार्यभार पूरा गर्न सक्दैनौं । हामी तयार नभए देश अर्को संकटमा फस्न दिन तयार हुनुपर्यो । सम्भावना हाम्रो पार्टीमै भए पनि अहिलेको वर्तमान स्थितिमा त्यो सम्भव छैन । हाम्रो पार्टीले नगरी हुँदैन, नत्र देश बर्वाद हुन्छ । हाम्रो पार्टीमै गर्नसक्ने सम्भावना पनि छ, तर यथास्थितिमा यो कार्यभार पूरा गर्न नसक्ने भएकाले पार्टीलाई नफेरी सम्भव छैन ।’पार्टीमा विचार, सिद्धान्तको धेरै उपेक्षा हुन थालेको उनले बताए ।
उनले माओवादी नेतृत्वको सरकारले मिटरब्याजी पीडितको समस्या समाधान गरेको बताए । उनले प्रचण्ड प्रधानमन्त्री र आफू गृहमन्त्री भएको बेलामा सुशासनमा कोसेढुंगा सावित हुनेगरी काम गरेको दाबी गरे ।नेता श्रेष्ठले आफू सरकारमा हुँदा पनि जनताको अपेक्षाअनुसार काम गर्न नसकेको विषयमा आत्मसमीक्षा पनि गर्नुपर्ने बताए ।