यो सरकार आफ्नै कारणले ढल्छ – माओवादी केन्द्र
२६ कात्तिक काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले वर्तमान सरकार आफ्नै कारणले ढल्ने दाबी गरेको छ।सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बसेको पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले यस्तो दाबी गरेका हुन्।‘पहिलाको सरकारले जेजे गरेको थियो, भ्रष्टाचारका विरुद्धमा, सुशासनका पक्षमा, सामाजिक न्यायसहितको समृद्धि भनेको थियो, त्यो एक एक गरी उल्टिँदैछन्। राष्ट्रियताको सवाल झनझन पेचिलो, झनझन जटिल भइरहेको छ,’ प्रवक्ता सापकोटाले भने, ‘लोकतन्त्रका मूल्य, मान्यता र आदर्श कुल्चिने कुचेष्टा भइरहेको छ। जनजीविकाको सवालमा सरकार चुकिरहेको छ। यो सरकार त आफ्नै कारणले जान्छ जान्छ तर फेरि यो हामीले जनतालाई सही ढंगले परिवर्तनका पक्षमा, अग्रगमनका पक्षमा दिशा निर्देश गर्नुपर्छ।’
देशमा राम्रा काम गरिरहेका कर्मचारीहरूलाई हटाउने खेल भइरहेको आरोप लगाउँदै उनले देशमा असाधारण परिस्थिति बन्दै गएको पनि बताए। असाधारण परिस्थितिको सामना गर्न सबै पार्टीहरूको बीचमा एकरुपता र समझदारी हुन जरुरी रहेको जिकिर गरे।
‘यो देशमा राम्रो काम गरिरहेका छन्, उनीहरूलाई हटाउने खेल भइरहेको छ। असाधारण परिस्थिति देशमा बन्दैछ। त्यसको लागि सबै पार्टीहरूको बीचमा एकरुप समझदारी हुनुपर्ने, राष्ट्रिय दृष्टिकोण बन्नुपर्ने बेलामा पार्टीहध फुटाउने खालको पनि चर्चा चलिरहेको छ। यी सबै कुरालाई, अनि फेरि संविधान संशोधनको कुरा गरेर त्यो त आवरण मात्रै थियो, उहाँहरूलाई सत्तामा जानु थियो। जानका लागि उहाँहरूले संविधान संशोधनको कुरा गर्नुभएको थियो,’ सापकोटाले भने।