अल्याङटल्याङले अब चल्दैन – प्रधानमन्त्री : यी मन्त्री रेड जोनमा
१३ मंसिर काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यमान स्थितिमा परिवर्तन ल्याउने गरी प्रभावकारीरुपमा काम गर्न मन्त्री र सचिवहरुलाई निर्देशन दिएका छन् ।चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको प्रथम त्रैमासिकको समीक्षा बैठकमा प्रधानमन्त्री ओलीले सोचे जति काम नभएकाले विद्यमान स्थितिमा परिवर्तन ल्याउनैपर्नेमा जोड दिएका हुन् ।स्रोतको सुनिश्चितताविना अघिल्लो सरकारबाट प्रस्तुत बजेट आएकाले पनि काम गर्न सहज नभएको उल्लेख गर्दै उनले बजेटको समीक्षा गर्न सकिने तर काम गर्नै शैलीमा भने आमूल परिवर्तन ल्याउनुपर्ने बताए ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु, राष्ट्रिय योजना आयोगका पदाधिकारी, मुख्यसचिव र सचिवहरुसहितको बैठकमा प्रधानमन्त्री ओलीले बजेट र कार्यक्रमका विसङ्गतिलाई व्यवस्थापन गर्नुपरेको बताउँदै ११ हजार नक्कली आयोजना ल्याइएको र बहुवर्षीय खालका योजनामा यस वर्ष रु २० लाख मात्रै बजेट राख्ने खालका विकृति अन्त्य हुनुपर्ने उल्लेख गरे ।
उनले अब अल्याङटल्याङ गर्ने समय नरहेकाले कुनै मन्त्रीको कार्यसक्षमता प्रभावकारी नभएमा त्यसमा पनि समीक्षा गर्नुपर्ने र कर्मचारीले उत्साहका साथ काम गर्नुपर्नेमा जोड दिए । प्रधानमन्त्री, मन्त्री र सचिवले सकारात्मक परिणामका लागि आफ्नो ठाउँबाट हस्तक्षेप गर्नुपर्ने र काम नगर्ने कर्मचारीलाई सरुवा मात्रै नगरेर कारवाही गर्नुपर्नेमा उनले धारणा राखे ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गरेको अहिले चार महिना भइसक्दा पनि उल्लेख्य परिणाम नदेखिएको टिप्पणी हुन थालेकै बेला केही मन्त्री रेड जोनमा परेको संकेत देखिएको छ ।
प्रधानमन्त्री ओलीले चार महिनामा गतिलो प्रभाव देखाउन नसकेका तथा विवादमा तानिएका केही मन्त्री हेरफेर गर्ने चर्चा सिंहदरबारमा सुरु भएको एक श्रोतले बताएको छ । एमालेबाट मन्त्री भएकामध्ये चार जना मन्त्री फेरिने चर्चा एमालेभित्र छ । कांग्रेसबाट मन्त्री भएकाहरुमा भने पार्टीले अहिले परिवर्तन गर्न चाहेको छैन ।
मन्त्रीहरूले सम्झौताअनुसार काम देखाउन नसकेको र आन्तरिक रूपमा विवादमा परेपछि हटाउने तयारी गरेको स्रोतको दाबी छ । उद्योगमन्त्री दामोदर भण्डारी, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी अहिले रेड जोनमा रहेको एमालेका नेताहरू नै बताउँछन् ।