उपनिर्वाचन जनमतसंग्रह नै हो – वरिष्ठ उपाध्यक्ष पाण्डे
१३ मंसिर काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले कीर्तिपुर नगरपालिकाको उपनिर्वाचन देशका निम्ति जनमतसंग्रह नै भएको बताएका छन् । बिहीबार कीर्तिपुरमा आयोजित चुनावीसभामा उनले नेकपा (माओवादी केन्द्र)का उमेदवार शिवशरण महर्जनलाई मतदान गर्न आह्वान पनि गरे ।कीर्तिपुरमा मात्र मेयर पदमा उपनिर्वाचन हुन लागेकाले यो जनमतसंग्रह नै भएको उनले टिप्पणी गरे । “यो चुनाव देशका लागि जनमतसंग्रह नै हो,” उनले भने ।
कीर्तिपुरमा एकीकृत समाजवादीले माओवादीका उमेदवारलाई सघाउने सहमति छ । र, काठमाडौं महानगरपालिका–१६ को वडाध्यक्षमा माओवादीले एकीकृत समाजवादीका उमेदवारलाई सघाउने सहमति यसअघि नै भइसकेको छ ।
पाण्डेले भ्रष्टाचारविरुद्ध आफूहरू एक ठाउँमा भएको बताए । “दुई ठूला पार्टी मिलेर सरकार बनाएका छन् । सबै काण्ड छोप्न सरकार बनाएका छन्,” उनले भने, “हामी भ्रष्टाचारको विरुद्धमा, अव्यवस्थाको विरुद्धमा, देशलाई लुट्नेका विरुद्ध हामी दुई पार्टी एक ठाउँमा छौँ,” उनले भने ।कीर्तिपुरसहितका स्थानीय तहका रिक्त पदका निम्ति यही मंसिर १६ गते उपनिर्वाचन हुँदै छ ।