मीनबहादुर गुरुङविरुद्धको एमालेलाई जग्गा दान दिने रिट खारेज
१ पुस काठमाडौं । सर्वोच्च अदालतले नेकपा (एमाले)लाई जग्गा दान दिने भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङको निर्णयविरुद्धको रिट खारेज गरिदिएको छ ।सोमबार न्यायाधीशहरू अब्दुल अजीज मुसलमान र बालकृष्ण ढकालको संयुक्त इजलासले जग्गा दानविरुद्ध दायर भएको रिट निवेदनलाई खारेज गरिदिएको हो । रिट निवेदक अधिवक्ता ज्ञानबहादुर बस्नेतले रिट खारेज भएको पुष्टि गरे ।
जग्गा दान र भवन निर्माण रोक्न माग गरिएको अधिवक्ता बस्नेतको रिटलाई सर्वोच्च प्रशासनले १ कात्तिकमा दरपिठ गरिदिएको थियो । तर, दरपिठविरुद्ध परेको निवेदनमा न्यायाधीश तिलप्रसाद श्रेष्ठले कात्तिक ६ गते सर्वोच्च प्रशासनको निर्णयलाई बदर गरिदिएको थियो ।
गत २५ असोजमा भाटभटेनी सुपरमार्केटका अध्यक्ष गुरुङ र उनकी श्रीमती सावित्री गुरुङले एमालेको पार्टी कार्यालय निर्माणका लागि १० रोपनी १४ आना जग्गा प्रदान गरेका थिए । गुरुङले नै भवन निर्माण गरेर एमालेलाई हस्तान्तरण गर्ने गरी शिलान्यास नै गरिएको थियो । गुरुङले कीर्तिपुर नगरपालिका–२, मैत्रीनगरको जग्गा दान दिएका हुन् ।