यस कारण अखिल (क्रान्तिकारी)को मतगणना स्थगित


Capital Headline
प्रकाशित मिति : आइतबार, पौस १४ २०८१
3.3K
SHARES

१४ पुस काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नेतृत्व चयन गर्दा उमेर हद लगाउने कि नलगाउने भनेर गरिएको निर्वाचनको मतगणनामा विवाद भएको छ । विवादका कारण गएरातिदेखि नै मतगणना स्थगित भएको छ ।

उमेर हद लगाउने कि नलगाउने भन्ने विषयमा शनिबार देशभर मतदान भएको थियो । तर बैतडी, दाङ र गुल्मी जिल्लाको निर्वाचनका विषयमा विवाद भएपछि रातिदेखि नै मतगणना स्थगित छ ।

प्रमुख निर्वाचन अधिकृत मुक्तिनारायण प्रधानले भूगोल र गैह्रभूगोलका जिल्लाहरुका मतदान केन्द्रहरुबाट निर्वाचन सम्बन्धी कागजपत्रहरु प्राप्त हुन बाँकी भएकाले मतगणना स्थगित गरिएको जिकिर गरेका छन् । ती कागजपत्रहरु प्राप्त भएपछि मात्रै मतगणनाले पूर्णता पाउने र परिणाम सार्वजनिक गरिने प्रधानको भनाइ छ ।

अखिल क्रान्तिकारीका २ हजार ३९८ मतदातामध्ये करिब एक हजार ८०० जनाले शनिबार पहिलोचरणको मतदानमा भाग लिएका थिए ।