राजनीतिमा कम्युनिस्ट आन्दोलन कमजोर हुँदा समस्या – अध्यक्ष नेपाल
२३ पुस काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा कम्युनिस्ट आन्दोलन कमजोर भएकाले राष्ट्रिय राजनीतिमा समस्या देखापरेको बताएका छन् ।केन्द्रीय कार्यालयमा आज आयोजित पार्टी निकट निर्वाचन आयोगका नवनिर्वाचित कार्यसमितिको शपथ ग्रहण कार्यक्रममा अध्यक्ष नेपालले कम्युनिस्टहरूमा बढ्दै गएको व्यक्तिवादी चरित्र तथा स्वेच्छाचारी प्रवृत्तिले समस्या आएको बताएका हुन् ।
वर्तमान अवस्थामा देखापरेका समस्या समाधान गर्न सकिने उल्लेख गर्दै उनले संकटको सामना गर्ने वैचारिक सामर्थ्य एकीकृत समाजवादीसँग रहेको बताए । उनले भने, “समस्यालाई राम्ररी हल गर्ने गरी सकारात्मक कुरा लिएर गाउँमा जानुपर्छ । आफू बलियो भएपछि मात्रै अरुले पत्याउँछन् ।”
पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले गाउँ बलियो बनाउन नेताहरूले जनताको बीचमा गएर उनीहरूको दुःख सुखमा साथ दिनुपर्ने बताए ।पार्टी महासचिव घनश्याम भुसालले वाम आन्दोलन संकटमा परेकोमा चिन्ता प्रकट गरे । हालै सम्पन्न पार्टीको स्थायी कमिटी बैठकले राष्ट्रिय राजनीतिमा अघि सारेको योजनाअनुरुप आन्दोलनद्वारा पार्टी निर्माण गर्नुपर्नेमा उनले जोड दिए ।
आयोग अध्यक्ष माधव पौडेलले आयोगका नेताहरूलाई स्थानीय भूगोलको जिम्मेवारी दिनुपर्ने बताउँदै यसपालीको कार्य विभाजनले राम्रो काम गर्न सक्नुपर्ने धारणा राखे ।