दुई दलीय तानाशाही चाहिँदैन – अध्यक्ष सीके राउत
२५ पुस काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राजनीतिक दलका निर्वाचनमा कति मत प्राप्त गर्नुपर्ने भनेर थ्रेसहोल्ड राख्न नहुने बताएका छन् । हाल रहेको थ्रेसहोल्ड अझ बढाउन लागिएको भनेर उनले विरोध गरेका छन् ।नेपाल जस्तो धार्मिक, भाषिक, सांस्कृतिक, भौगोलिक र जातीय विविधतापूर्ण देशमा सानोभन्दा सानो समूहको आवाजको पनि प्रतिनिधित्व सदनमा हुनुपर्ने अध्यक्ष राउतको मत छ ।
सबै वर्ग, समुदाय र क्षेत्रले कम्तीमा आफ्ना समस्या सदनमा राख्न पाउनुपर्ने र यसअनुसार ऐन/कानून बन्नुपर्ने उनलाई लाग्छ । उनी सामाजिक सञ्जालमा लेख्छन्, ‘सबैले आफूलाई प्रभावित कसरी गर्ने भन्ने कुरा सदनलाई बताउन सकोस् ।’
तर यस विपरीत सरकार अगाडि बढ्न खोजेको भनेर उनले विरोध गरेका छन् । ‘६/७ लाख गर्दै दशौं लाख (३०–४० लाख) जनताको मतलाई खारेज गर्ने र सो हिस्सा चोर बाटोले ठूला पार्टीमा जोड्ने निर्वाचन थ्रेसहोल्डको प्रावधान आमजनतालाई स्वीकार्य हुन सक्दैन’ उनले फेसबुकमा लेखेका छन्, ‘हामी संघर्षका लागि तैयार छौं । दुई दलीय तानाशाही नेपाललाई चाहिएको छैन ।’