देश विकासमा बीमा क्षेत्रको पुँजीलाई प्रयोग गर्नुपर्छ : चन्द्र ढकाल


Capital Headline
प्रकाशित मिति : बिहिबार, पौस २५ २०८१
2.3K
SHARES

२५ पुस काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बीमा क्षेत्रको पुँजीलाई देश विकासको लागि प्रयोग गर्न सकेमा यसले अर्थतन्त्रलाई थप चलायमान बनाउने बताएका छन् । काठमाडौंमा बिहीबार आयोजित नेशनल इन्स्योरेन्स डिस्कोर्षमा उनले बीमाले देशको अर्थतन्त्रमा पुँजी निर्माण गर्न ठूलो भूमिका खेल्ने बताए ।

अर्थतन्त्र चलायमान हुन अर्थतन्त्रका सबै क्षेत्र चलायमान हुन आवश्यक रहेको बताउदै उनले बीमाको पुँजीलाई उत्पादनमूलक क्षेत्रमा लगाउनुपर्ने बताए । अध्यक्ष ढकालले बीमा क्षेत्रले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा करिब २ लाखभन्दा बढी रोजगारी सिर्जना गरेको भन्दै यसको विकास र विस्तारले थप रोजगारी सिर्जना हुने धारणा राखे ।

यस्तै उनले बीमाको प्रिमियम बढी भएको, बीमा भुक्तानीमा समस्याको गुनासो आउने गरेको भन्दै यसको सुधारका लागि पहल गर्न नियामक निकायलाई आग्रह गरे । अध्यक्ष ढकालले नियामक निकायलाई बीमा कम्पनीहरूको माइक्रो म्यानेजमेन्ट गर्नुभन्दा कम्पनीलाई नै स्वयम् जिम्मेवार बनाउन सके प्रभावकारी हुने सुझावसमेत दिए ।

कुल जनसंख्याको ४४ प्रतिशतमा पुगेको बीमाको पहुँच विस्तार आवश्यक रहेको भन्दै अध्यक्ष ढकालले बीमाको दायरा बढाउन बीमाको महत्वबारे जनचेतना अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए ।