माघदेखि बैंक खाता खोल्न अनिवार्य राष्ट्रिय परिचय पत्र चाहिने


Capital Headline
प्रकाशित मिति : शुक्रबार, पौस २६ २०८१
2.2K
SHARES

२६ पुस काठमाडौ । नेपाल राष्ट्र बैंकले बैंक खाता खोल्न राष्ट्रिय परिचय पत्र अनिवार्य गरेको छ। केन्द्रीय बैंकले एकीकृत निर्देशन २०८० संशोधन तथा परिमार्जन गर्दै माघ एक गतेदेखि लागू हुने गरी बैंकिङ प्रणालीमा राष्ट्रिय परिचय पत्र अनिवार्य गरेको हो।

यसअघि सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत् बैंकको खाता खोल्न राष्ट्रिय परिचय पत्र अनिवार्य भनेपनि कार्यान्वयन भएको थिएन। जसालाई केन्द्रीय बैंकले माघ एक गतेदेखि नयाँ खाता खोल्न तथा पुरानोलाईसमेत राष्ट्रिय परिचय पत्रकै आधारमा ग्राहकको पहिचान तथा पुष्टि गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।

संशोधित निर्देशिकामा भनिएको छ, ‘बैंक तथा वित्तीय संस्थाले माघ एक गतेदेखि राष्ट्रिय परिचय पत्रको विद्युतीय अभिलेखमा रहेको विवरणको पहुँचको आधारमा राष्ट्रिय परिचय पत्रका आधारमा खाता खोल्ने अनिवार्य व्यवस्था मिलाउनुपर्नेछ।’

बैंक तथा वित्तीय संस्थाले आफ्नो ग्राहक उच्च पदस्थका व्यक्ति वा नजिकको सम्बन्ध भए नभएको एकिन आफूसँग ग्राहकबाट जानकारी लिनुपर्नेछ। यस्ता ग्राहकको खातामा राष्ट्रिय परिचय पत्रको विवरण ०८१ माघ एक गतेसम्म गर्न केन्द्रीय बैंकले निर्देशन दिएको छ।