भैरहवा भन्सार कार्यालयलाई लक्ष्य भेट्टाउन समस्या


Capital Headline
प्रकाशित मिति : शुक्रबार, माघ ४ २०८१
3.5K
SHARES

४ माघ रुपन्देही । देशकै दोस्रो ठूलो भन्सार कार्यालय रहेको भैरहवा भन्सार कार्यालय, रुपन्देहीले चालू आर्थिक वर्षमा पनि लक्ष्य भेटाउन नसक्ने देखिएको छ । कार्यालयले निर्धारित लक्ष्यअनुसार आधा वर्षको समाप्तिमा ४२ प्रतिशत मात्रै राजस्व संकलन गर्न सकेको छ ।

कार्यालयले आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा ४६ अर्ब २ करोड ९६ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । जुन लक्ष्यको ४२ प्रतिशत मात्रै हो । भैरहवा भन्सार कार्यालयलाई भन्सार विभागले आर्थिक वर्ष २०८१/८२ का लागि १ खर्ब ९ अर्ब ३३ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएको छ ।

‘हामीले भन्सार विभागले दिएको लक्ष्य भेटाउन सकेका छैनौँ, तर निराश हुने गरी राजस्व संकलन घटेको छैन,’ प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले भने । गत वर्षको सोही अवधिको तुलनामा यो वर्ष भन्सार राजस्व संकलन बढी भएको उनको दाबी छ ।