माओवादी अब आफ्नै बलबुतामा अघि बढ्छ – प्रचण्ड


Capital Headline
प्रकाशित मिति : शनिबार, माघ ५ २०८१
3.7K
SHARES

५ माघ मोरङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी स्थानीय तहको निर्वाचनमा कम्तीमा २५० पालिका जितेर माओवादी केन्द्र पहिलो पार्टी बन्ने दाबी गरेका छन् ।

मोरङको ग्रामथान गाउँपालिका- ५ तेतेरियामा आयोजित धन्यवाद ज्ञापन कार्यक्रम तथा खबरदारीसभालाई सम्बोधन गर्दै उनले २०७९ को स्थानीय तह निर्वाचनमा तेस्रो बनेको माओवादीलाई यस पटक ग्रामथानवासीले पहिलो पालिका बनाएको बताए ।

केन्द्रीय समिति बैठकको दस्तावेजमा आफूले ग्रामथानको नामै उल्लेख गरेर देशभरि विजयको सन्देश प्रवाह गरिएको प्रचण्डले बताए ।उनले आफ्नो पार्टी ओरालो यात्रामा लागेका बेला कहिले कांग्रेस र कहिले एमालेसँग सहकार्य गर्दै केही कमजोरी पनि गरेको उल्लेख गर्दै अब आफ्नै बलबुतामा अघि बढ्ने बताए ।

प्रचण्डले थपे, ‘हामीले २०६४ मा जनताको मत पाएर पनि पार्टीलाई एकताबद्ध राख्न सकेनौं, जनताको विश्वास कायम राख्न नसकेकै हौं । त्यतिबेलाको जनमत र आजको जस्तो हाम्रो सुझबुझपूर्ण चेतना र शैली मिल्यो भने अब हामी नेपाललाई राजनीतिक परिवर्तनको पूर्ण अनुभूति गराउनेछौं, हामी धेरै कुरा सम्झेर तपाइईंहरुसमक्ष आएका छौं, तपाईंहरुलाई पनि २०६४ साल सम्झिदिन अपिल गर्दछु ।