ग्लोबल आइएमई बैंक र सिस्नुपानीको सहकार्य


Capital Headline
प्रकाशित मिति : आइतबार, माघ ६ २०८१
665
SHARES

६ माघ काठमाडौं । ग्लोबल आइएमई बैंकको प्रायोजनमा सिस्नुपानी नेपालले संयुक्त अरब इमिरेट्स (युएई)मा दुई थोपा हाँसो कार्यक्रम सम्पन्न गरेको छ । नयाँ वर्ष २०२५ को अवसरमा युएईमा बसोवास गरिरहेका श्रमशील नेपाली नागरिकलाई मनोरञ्जन, वित्तीय सचेतना अभिवृद्धि एवं जीवनका बारेमा सकारात्मक भावना अभिवृद्धि गर्ने उद्देश्यले निःशुल्क रूपमा कार्यक्रम आयोजना गरिएको हो ।नेपाली राजदूतावास अबुधाबीको संयोजनमा गैर आवसीय नेपाली संघ युएईको आयोजनामा सिस्नुपानी नेपालका कलाकारहरूको प्रस्तुति रहेको थियो । युएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीको प्रमुख आतिथ्यमा समुद्घाटन गरिएको उक्त कार्यक्रम आबुधाबीस्थित अलजोधा, एम ४४, मुसफ्फाबाट जनवरी १० तारिखमा सुरु गरिएको थियो ।

यसैगरी क्लिन्को क्याम्प, सज्जा सारजहाँ र अलकुजको बलेदिया भलिबल ग्राउन्डमा जनवरी ११ तारिखमा गरिएको थियो । जनवरी १२ तारिखमा भने इभर सेन्डाई क्याम्प, सोनापुर र इन्डियन सोसल सेन्टर अजमानमा सम्पन्न भएको थियो ।नेपाली कामदारलाई पायक पर्ने हल तथा उहाँहरू बस्ने क्याम्प क्याम्पमा नै पुगेर गरिएको यस कार्यक्रमले आर्थिक, सामाजिक तथा कानुनी कुरामासमेत सचेतना थपेको थियो । नेपाली रेमिट्यान्समा उल्लेख्य भूमिका निर्वाह गर्ने श्रमशील नेपालीका दुःखसुखमा ऊर्जा थप्ने उद्देश्यले सिस्नुपानी नेपालले विगत एघार वर्षदेखि यो कार्यक्रम दुई थोपा हाँसो गर्दै आएको छ । युएईमा भने यो चौथो संस्करण हो ।

ग्लोबल आइएमई बैंकको ग्लोबल रेमिटको मुख्य प्रायोजन रहेको उक्त कार्यक्रममा नेपाल वायुसेवालगायत अन्य दर्जनौँ संस्थाको प्रायोजन रहेको थियो । आगामी दिनमा पनि यस्ता कार्यक्रम नेपालीले श्रम गरिरहेका विभिन्न देशमा गर्दै जाने कुरा आयोजक संस्था र कलाकार समूहद्वारा व्यक्त गरिएको थियो ।