जाडोले बन्द भयो यारी नाका


Capital Headline
प्रकाशित मिति : सोमबार, माघ ७ २०८१
2.2K
SHARES

७ माघ काठमाडौं । चिसो बढेसँगै नेपाल र चीनबीचको सिमाना हुम्लामा पर्ने यारी नाका बन्द भएको छ। गत मंसिर २५ गतेयता भन्सार कार्यालय बन्द गरेर कर्मचारी सदरमुकाम सिमिकोट झरेका छन्। भन्सार कार्यालय प्रमुख रामराज जैशीले हिमपात र चिसो मौसमका कारण यारी भन्सार यसपटक छिटो बन्द भएको जानकारी दिए।

उनका अनुसार वर्षमा ६ महिना मात्रै यो नाका खुल्ने गर्छ। चिसोले बन्द भन्सार अब आगामी वैशाखअघि खुल्ने सम्भावना नभएको प्रमुख जैशीले बताए।कार्यालयमा मौसम अनुसार बन्दोबस्तको व्यवस्था नहुँदा हिमपातसँगै अत्यधिक चिसो बढेपछि भन्सार बन्द गरेर सदरमुकाम झर्नुपर्ने बाध्यता भएको उनको भनाइ छ।

उनका अनुसार भन्सार सञ्चालन भएको समयमा बिहान ९ देखि ११ र दिउँसो २ देखि ४ बजेसम्म नाका खुल्छ।बाक्लो हिउँका कारण हुम्लाको नारा लेक बन्द हुदाँ भन्सार ठप्प भएको हो। अन्य समयमा नारालेकसम्म सवारीसाधन र त्यहाँबाट उता हिल्सासम्म हिँडेरै भए पनि व्यापारी नाका पुग्ने गर्छन्।

उनीहरू चीनको ताक्लाकोटबाट सामान ल्याउँछन्।कार्यालय प्रमुख एक जना मात्रै स्थायी कर्मचारीको भरमा सञ्चालित भन्सारका सबै शाखा हाल ठप्प छन् भने अन्य सबै दरबन्दी रिक्त छन्।‘कर्मचारी म मात्रै हुँ, त्यसैमा काम विशेष जिल्ला छाड्नुपर्ने हुन्छ’, उनले भने, ‘अन्य कर्मचारीको दरबन्दी कायम गर्न सरकारकै चासो छैन।’अनलाइन सिस्टममा काम गर्नुपर्ने भन्सार कार्यालयमा इन्टरनेटसमेत जडान नभएका कारण थप समस्य भएको उनले सुनाए।