०८४ मा बहुमत दिनुस् भ्रष्टाचारको जरो उखालेर फ्याँकिदिन्छौं – प्रचण्ड


Capital Headline
प्रकाशित मिति : बिहिबार, माघ १० २०८१
2.2K
SHARES

१० माघ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी प्रवेश गर्नेहरुको लहर आएको दाबी गरेका छन्। उनले एमालेबाट माओवादी प्रवेश गर्नेहरुको बढ्दै गएको उनको भनाइ छ। बाँकेमा आयोजित पार्टीका खबरदारी सभालाई सम्बोधन गर्दै आफ्नो कमीकमजोरी सच्याएर माओवादी जनतासँग एकाकार हुँदै अघि बढेको बताए।

उनले भने, ‘हामी अहिले आत्मसमीक्षा गरेर अघि बढिरहेका छौं। कहिले कांग्रेस, कहिले एमालेसँग सहकार्य गरेर माओवादीकै पहिचान हराउँला भन्ने डर भएको थियो। अब त्यो गल्ती गरिनेछैन। अब माओवादी आफ्नै खुट्टा र एजेण्डामा उभिन्छ। अब भ्रष्टाचारीहरुसँग समीकरण हुँदैन।’

उनले अहिले भ्रष्टाचारीहरुको सीट धेरै, भ्रष्टाचारका विरुद्ध लड्नेहरुको सीट थोरै भएको कारणले आफूलाई सरकारबाट असंवैधानिक ढंगले हटाएको बताए। उनले थपे, ‘३२ सीट हुँदा त भ्रष्टाचारका विरुद्ध एक युद्ध छेड्यौँ। सामाजिक न्यायको पक्षमा लड्यौं। अन्तराष्ट्रिय रुपमा नेपालको इज्जत बढायौं। हामीलाई तपाईंहरुले ०८४ मा जस्तै बहुमत दिनुभयो भने नेपालबाट भ्रष्टाचार जरोकिलो उखालेर फ्यालिनेछ। सामाजिक विभेदको पूरै अन्त्य गरेको छु। म ७० पुगेपनि म भ्रष्टाचार र प्रतिक्रियावादीहरुका विरुद्ध लडाइँ लड्नुछ। त्यो नेपाली जनताले जित्नुछ।’ उनले सरकारले अध्यादेशबाट शासन चलाउने कुचेष्टा गरेको भन्दै १८ गतेबाट हुने सदनमा सरकारविरुद्ध खरो रुपमा प्रस्तुत हुने बताए।