ज्येष्ठ नागरिकको उपचारका लागि छुट्टै शय्याको व्यवस्था


Capital Headline
प्रकाशित मिति : सोमबार, माघ १४ २०८१
2.4K
SHARES

१४ माघ हुम्ला । हुम्ला जिल्ला अस्पतालमा ज्येष्ठ नागरिकको उपचारका लागि छुट्टै शय्याको व्यवस्था गरिएको छ ।जिल्ला अस्पतालमा उपचारका लागि आउने ज्येष्ठ नागरिकमा अन्य बिरामीसँगै उपचार हुँदा समस्या हुने भएकाले पनि उनीहरूको उपचारमा सहज होस् भनेर छुट्टै शय्याको व्यवस्था गरिएको सामाजिक सुरक्षा इकाइ शाखाका उजिर बोहराले जानकारी दिए ।उपचारका लागि आउने ज्येष्ठ नागरिकका लागि दुई शय्या र ज्येष्ठ नागरिकलाई न्यानोका लागि दुई हिटरको व्यवस्था गरेको बोहराले जानकारी दिए ।

जिल्ला अस्पतालमा चार वर्षदेखि संघीय सरकारको स्वास्थ्य मन्त्रालयबाट ज्येष्ठ नागरिक कार्यक्रम लागुहुँदै आएको स्वास्थ्य सेवा कार्यालय प्रमुख डा. प्रतिक्षा भारतीले जानकारी दिइन् ।माघदेखि अस्पतालमा भर्ना भएका ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई सो व्यवस्था गरिएको उनले बताइन् । उनका अनुसार ७५ वर्ष भन्दामाथिका सबै खाले ज्येष्ठ नागरिकलाई अस्पतालमा उपलब्ध हुने सबै सेवा निःशुल्क छ ।

त्यसैगरी ६५ देखि ७४ वर्षको ज्येष्ठ नागरिकलाई ७५ प्रतिशत छुट र ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । ज्येष्ठ नागरिक कार्यक्रमका लागि १० लाख बजेट केन्द्रबाट उपलब्ध हुँदै आएको छ ।