नेपाललाई स्वर्ग बनाउन जुटौँ – राष्ट्रपति पौडेल
१६ माघ दमौली । राष्ट्रपति रामचन्द्र पौडेलले सहिदहरूले नेपाली जनताको स्वतन्त्रताको लागि गरेको बलिदानबाट प्रेरणा लिएर नेपाललाई स्वर्ग बनाउने अभियानमा जुट्न सबैलाई अपिल गरेका छन् ।
तनहुँको व्यास नगरपालिका -८ पुलिमराङमा रहेको सहिद पार्कमा पुगेर सहिदहरूको सालिकमा माल्यार्पण पछि स्थानीयलाई सम्बोधन गर्दै उनले भने, ‘सहिदहरूको ठुलो बलिदानले आज हामीले संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेका छौँ । अब विदेश जाने छटपटाहट छोडौँ र नेपाललाई नै स्वर्ग बनाउने अभियानमा जुटौँ ।’
लोकतान्त्रिक आन्दोलनका क्रममा विभिन्न समयमा शहादत प्राप्त गर्ने पुलिमराएका ६ जनाको सालिक यो पार्कमा रहेको छ । जसमध्ये धर्मध्वज गुरुङले १ माघ २००७ मा बन्दीपुरमा राणा शासनविरुद्धको आन्दोलनमा शहादत प्राप्त गरेका थिए । त्यसै गरी २०१८ सालमा निर्दलीय पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा पुलिमराएका लालध्वज गुरुङ, सर्वसिंह गुरुङ र हस्तवीर गुरुङले कोत्रेमा शहादत प्राप्त गरेका थिए । शमशेरबहादुर गुरुङ भरतपुरमा र भारत गुरुङ पुलिमराङमै मारिएका थिए ।