अमेरिकी सामानमा २५ प्रतिशत अतिरिक्त करको सामना गर्ने


Capital Headline
प्रकाशित मिति : शुक्रबार, माघ १८ २०८१
2.4K
SHARES

१८ माघ वासिङ्टन डीसी । क्यानडा र मेक्सिकोबाट आउने सामानमाथि अमेरिकामा २५ प्रतिशत अतिरिक्त महसुल लाग्ने भएको छ । शनिबार अर्थात् फेब्रुअरी १ देखि लागू हुने गरी उक्त कर लगाइने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका छन् । यो कर ती देशबाट आउने तेलमा लागू हुन्छ कि हुन्न भन्नेबारे चाँहि निर्णय भइनसकेको ट्रम्पले बताएका छन् । ओभल अफिसमा पत्रकारहरूसँग कुराकानी गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

यी देशका सीमाबाट अमेरिकामा ठुलो सङ्ख्यामा भित्रिने अवैध आप्रवासी र लागू औषध नियन्त्रण गर्न यस्तो कदम चालिएको उनले बताए । चीनबाट आयात हुने सामानमा छिटोमा यही महिनादेखि १० प्रतिशत कर लाग्ने  पनि ट्रम्पले बताएका छन् । तर उनले यसबारे थप विवरण भने दिएका छैनन् ।

चीनबाट अमेरिकामा फेन्टानिल तस्करी भइहरेको र यसका कारण सयौँ हजारौँको मृत्यु भइरहेको कुरालाई ट्रम्पले पुनः दोहोर्‍याए । चीनले यसको लागि पनि महसुल तिर्नु पर्ने उनको भनाइ थियो ।

आफ्नो चुनावी अभियानमा ट्रम्पले चीनमा बनेर अमेरिका आउने सामानमा ६०  प्रतिशतसम्म अतिरिक्त महसुल लगाउने चेतावनी दिएका थिए । तर कार्यभार सम्हालेको पहिलो दिनमा उनले यसबारे कुनै कदम चालेनन् । आफ्नो प्रशासनलाई यस मामिलामा अध्ययन गर्न उनले आदेश दिएका थिए ।