हामी चुनाव एक्लै लड्छौं – नेता श्रेष्ठ
१९ माघ अर्घाखाँची । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष एवं पूर्वउपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अब पार्टीलाई रुपान्तरण र पुनर्गठन गरेर आउँदो चुनावमा एक्लै लडेर शक्तिशाली बन्ने बताएका छन् ।
अर्घाखाँची भूमिकास्थान नगर कमिटी तेस्रो अधिवेशन उद्घाटन गर्न शनिबार आएका नेता श्रेष्ठले माओवादी नेता र पार्टी सच्चिनुपर्ने बताए । ‘२०६४ को हामी ठूलो शक्ति थियौं, अहिले शक्तिमा कमजोर छौं,’ श्रेष्ठले भने, ‘हाम्रो चरित्र, आचरण र व्यवहार हिजो स्वच्छ थियो, जनतासँग सम्बन्ध कसिलो थियो, नीति विचार र सिद्धान्तमा अडिग थियौं, त्यसैले पहिलो शक्ति बनेका थियौं । अब सच्चिएर पार्टी रुपान्तरण र पुनर्गठन गर्दै जनतासँग पुग्नुपर्छ ।’
माओवादी पार्टी परिवर्तनको बाहक भएकाले लोकतन्त्र रक्षा, सामाजिक आर्थिक रुपन्तारण पनि माओवादीले नै गर्छ भन्दै जनतासँग पुग्न उनले कार्यकर्तालाई अपिल गरे ।