कर्जाको माग किन छैन ?


Capital Headline
प्रकाशित मिति : आइतबार, माघ २० २०८१
2K
SHARES

२० माघ काठमाडौं । घट्दो आयात, घट्दो उपयोग, बढ्दो विप्रेषण आप्रवाह, न्यून कर्जाको माग र बढ्दो तरलताको अवस्थालाई एकातर्फ बैंकिङ क्षेत्रको स्रोत व्यवस्थापनमा असन्तुलन सिर्जना भएको अवस्था रहेको देखिन्छ भने अर्को तर्फ कर्जा विस्तार नहुँदा आर्थिक गतिविधिमा समेत नकारात्मक प्रभाव समेत परेको अवस्था रहेको छ ।

यतिबेला बैंकहरुमा बढ्दो तरलता रहेपनि माग भने न्यून छ । कर्जाको माग हुन नसक्दा बैंकिङ प्रणालीमा लगानीयोग्य पैसा थुप्रिँदै गएको छ । नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थामा ६ खर्बभन्दा बढी लगानीयोग्य रकम (तरलता) थुप्रिएको छ । बैंकमा पैसा थुप्रिएपछि राष्ट्र बैंकले हप्तैपछि आर्थिक तरलता खिच्दै आएको छ ।

राष्ट्र बैंकको तथ्यांकअनुसार पुस मसान्तसम्म बैंकिङ प्रणालीमा ५ खर्ब ९७ अर्ब ६४ करोड रुपैयाँ तरलता मौज्दात छ। अघिल्लो वर्षको सोही अवधिमा प्रणालीमा १ खर्ब ६२ अर्ब ७१ करोड रुपैयाँ तरलता मौज्दात थियो। गत वर्षको तुलनामा चालु आर्थिकको ६ महिनामा बैंकिङ प्रणालीमा २०५.८५ प्रतिशतले लगानीयोग्य रकम बढेको राष्ट्र बैंकले तथ्यांक छ ।

चालु आर्थिक वर्षको पुसमा वाणिज्य बैंकहरूले ६० अर्ब रुपैयाँले कर्जा विस्तार गरेका छन्। माघ पहिलो साता सकिँदासम्म यो रकम बढेर ५४ खर्ब १० अर्ब पुगेको छ । नेपालका बैंकिङ क्षेत्रको बढ्दो तरलता एक महत्वपूर्ण आर्थिक समस्या हो, जसले बैंकहरूको संचालन र समग्र अर्थतन्त्रमा प्रभाव पार्न सक्छ ।

तरलता भन्नाले बैंकको संचित नगद र ती नगदलाई चाँडो बजारमा रूपान्तरण गर्न सक्ने क्षमता जनाउँछ । जब बैंकहरूमा तरलता बढ्छ, भने ती नगदलाई लगानीमा प्रयोग गर्नुपर्ने, ग्राहकलाई कर्जा दिनुपर्ने र अर्थतन्त्रमा व्यवसायिक गतिविधिहरूलाई बढाउनुपर्ने देखिन्छ ।

कर्जा विस्तार हुन नसक्नुका कारणहरु

राष्ट्रिय अर्थतन्त्रमा उपभोग, उत्पादन घटेसँगसँगै कर्जाको मागमा कमी आउनु,

वैदेशिक रोजगारीमा जानेको संख्या उल्लेख्य रुपमा बढेसँगै अर्थतन्त्रमा उपभोग घटेको जसले आर्थिक गतिविधिमा कमी आई कर्जाको मागमा कमी आएको,

उच्च तरलता र न्यून व्याज रहंदा रहँदै पनि केही बैंक तथा वित्तीय संस्थाको पूँजी कोष अनुपात आदर्शतम तहमा रहँदा थप जोखिम भारित सम्पत्ति विस्तार गर्ने अवस्थामा नरहेको,

वाणिज्य बैंकको ध्यान कर्जा विस्तार भन्दा पनि कर्जा असुली तर्फ बढी केन्द्रित रहनु,

अर्थतन्त्रमा समष्टिगत माग घट्नु,

नेपाल राष्ट्र बैंकले चालु पुंजी कर्जा मार्गदर्शनमा गरेको परिवर्तनको असर देखिएको,

नेपालको अर्थतन्त्रमा औद्योगिकीकरण कमजोर रहेको अवस्थामा कर्जाको माग कम रहनु,

ठूलो कर्जाको माग रहदै आएको पूँजी बजार र घरजग्गा कारोबार दुबैमा मन्दी देखापर्नु,

कमजोर लगानीको वातावरण, उत्पादनमूलक उद्योगको कमजोर प्रति, बैंकिङ क्षेत्रको व्यवस्थापकीय कमजोरीको साथै नवीनता र प्रविधिमा लगानी अपेक्षित रुपमा विस्तार गर्न नसक्दा समेत नेपालको वाणिज्य बैंकहरुले अपेक्षित रुपमा कर्जा लगानी विस्तार गर्न नसकेको देखिन्छ ।