५ अर्बको ट्रेजरी बिल नवीकरण गर्दै सरकार
५ फागुन काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ । कार्यालयले १८२ दिन अवधिकोे ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । फागुन ६ गते मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि आज १० बजेदेखि ३ बजेसम्म बोलकबोल गर्न सकिने कार्यालयले जनाएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले नविकरण गर्न लागेको १८२ दिने ५ अर्ब रुपैयाँको ट्रेजरी बिल २०८२ भदौ ३ गते परिपक्व हुनेछ । ट्रेजरी बिलको डिस्काउन्ट रेट ३ प्रतिशतभन्दा पनि तल झरेपछि प्रतिस्पर्धा झनै बढेको देखिन्छ अहिले बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम पर्याप्त छ । अन्य क्षेत्रमा लगानी विस्तार हुन नसक्दा बैंकहरुले सरकारी ऋणपत्रमै लगानी गरेर भए पनि आम्दानी गर्न खोजिरहेका छन्, जसले गर्दा अल्पकालीन ब्याजदरहरु समेत घट्दै गएको छ ।
पछिल्लो समयमा बैंकहरुमा प्रशस्त तरलता रहेकाले ट्रेजरी बिलमा मागभन्दा निकै धेरै आवेदन पर्ने गरेको छ, जसले गर्दा डिस्काउन्ट रेट पनि घटेको छ । पछिल्लो समय जारी भएका ट्रेजरी बिल खरिदका लागि बैंक तथा वित्तीय संस्थाहरुले माग भन्दा ३ गुणाबढीसम्म बोल गरेका छन् । बैंक वित्तीय संस्थामा लगानी योग्य पुँजी पर्याप्त भएपछि ट्रेजरी बिलको ब्याजदरमा समेत गिरावट आएको हो । यसअघि गत माघ २८ मा नविकरणका लागि बोलकबोल भएको २८ दिन अवधिको ५ अर्बको ट्रेजरी बिलको खरिदका लागि १९ अर्ब २७ करोड ७५ लाख बराबरको बोल परेको थियो । जसको औसत डिस्काउन्ट रेट २.९९ प्रतिशत कायम भयो । ९१ दिन अवधिको ८ अर्बको ट्रेजरी बिल खरिदका लागि १६ अर्ब २२ करोड ७५ लाख बराबरको बोल परेको थियो । जसको औसत डिस्काउन्ट रेट २.९३ प्रतिशत कायम भयो । यसैगरी, १८२ दिन अवधिको ६ अर्बको ट्रेजरी बिल खरिदका लागि १६ अर्ब ४५ करोड बरारबको बोल परेका थियो, जसको औसत डिस्काउन्ट रेट २.९९ प्रतिशत कायम भएको थियो ।
ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ ।भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ । व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ ।
सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् । बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ ।