सरकार कूटनीतिक रूपमा असफल – सांसद सापकोटा
६ फागुन काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले कूटनीतिक रूपमा सरकार असफल भएको आरोप लगाएको छ ।प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समय लिएर बोलेका माओवादी केन्द्रका सांसद माधवप्रसाद सापकोटाले भारतमा अध्ययनरत नेपाली विद्यार्थीको रहस्यमय मृत्यु र त्यसपछि विकसित घटनाक्रमलाई हेर्दा सरकार कूटनीतिक रूपमा असफल भएको देखिएको बताएका हुन् ।
सरकारको कूटनीतिक असफलताको कारण नेपाली जनताले समस्या भोगिरहनुपरेको उनले बताए । ‘भारतमा अध्ययनरत नेपाली विद्यार्थीको रहस्यमय मृत्युपछि त्यहाँ रहेका नेपाली विद्यार्थीले गरेको न्यायको आन्दोलनमा जुन अपमानजनक, अमानवीय व्यवहार गरियो । यसले सिंगै नेपाल र नेपालीमाथि धावा बोलेको छ,’ सांसद् सापकोटाले भने, ‘सरकारको कूटनीतिक असफलताको कारण नेपाली जनताले समस्याको सामना गरिरहनुपरेको छ ।’ उनले माओवादी संसदीय दलको तर्फबाट घटनाको भर्त्सना गर्दै पीडित नेपालीलाई न्याय दिलाउन तीव्र कूटनीतिक पहलको माग गरे ।