बसमा मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु, २ जना घाइते
९ फागुन काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–९ नलिन्चोकमा बसमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।गएराति करिब आठ बजेतिर जगातीबाट साँगातर्फ जाँदै गरेको बा ३ ख ७४४० नम्बरको बसमा विपरीत दिशाबाट आउँदै गरेको बा ४४ प ७३४२ नम्बरको मोटरसाइकल ठोक्किएको थियो । त्यसपछि जगातीबाट साँगातर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०५५ प २५९९ नम्बरको मोटरसाइकललाई समेत ठक्कर दिँदा तीन जना घाइते भएका थिए ।
तीमध्ये बा ४४ प ७३४२ नम्बरको मोटरसाइकलमा सवार रामेछापको सुनापाती गाउँपालिका ४ घर भई हाल भक्तपुरको पाण्डुबजार बस्ने २१ वर्षीय तिम्बा दोर्जे तामाङको मृत्यु भएको हो ।इवामुरा अस्पतालमा उपचारको क्रममा गएराति करिब पौने नौ बजे उनलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । उनको निधारमा गम्भीर चोट लागेको थियो ।