नेपाल एफएटीएफको ग्रे लिस्टमा


Capital Headline
प्रकाशित मिति : आइतबार, फाल्गुन ११ २०८१
3.7K
SHARES

११ फागुन काठमाडौं । नेपाल दोस्रोपटक सम्पति शुद्धीकरणको ग्रे लिस्टमा परेको छ। यसअघि सन् २००९ देखि २०१४सम्म नेपाल ग्रेस लिस्टमा परेको थियो। फ्रान्समा जारी फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को दोस्रो प्लेनरीले नेपाललाई आगामी २ वर्षका लागि ग्रे लिस्टमा राखेको हो।यद्यपि यसको औपचारिक घोषणा हुन बाँकी रहेको छ। एफएटीएफ प्रेसिडेन्ट एलिजा डे अन्दा मड्राजोले नेपाली समयानुसार शुक्रबार साँझ ८ः१५ बजे पत्रकार सम्मेलनमार्फत नेपाल ग्रे लिस्टमा परेको घोषणा गर्ने छिन्।

ग्रे लिस्टमा नेपालसँगै लाओस पनि परेको छ। फिलिपिन्स भने २ वर्षपछि ग्रे लिस्टबाट बाहिरिएको छ। ग्रे लिस्टमा परेपछि नेपालले २ वर्षको समयावधि गर्नुपर्ने कामको सूची एफएटीएफले निर्धारण गर्नेछ। उसले निर्धारण गरेका काम सन्तोषजनक रुपमा पूरा गरेमा नेपाल ग्रे लिस्टबाट बाहिरिनेछ। ती काम सन्तोषजनक नभएमा नेपाल ब्ल्याक लिस्टमा पर्ने सम्भावना रहन्छ।

नेपालमा कालोधन खुलेआम रुपमा नै बैंक तथा वित्तीय संस्थाबाट नै वैध भइरहेको एफएटीएफको निष्कर्ष छ। दोस्रो प्लेनरीमा नेपालका तर्फबाट प्रधानमन्त्री कार्यालयका सचिव फणिन्द्र गौतम र नेपाल राष्ट्र बैंकका निर्देशक तथा फाइनान्सियल इन्टेलिजेन्स युनिट(एफआईयू)का सदस्य हरि नेपालले प्रतिनिधित्व गर्दै सहभागी छन्।