अस्ट्रेलियामा नेपाल चिनाउने मेला
१८ फागुन अस्ट्रेलिया । अस्ट्रेलियामा मुलुक चिनाउने मेलाका रूपमा चिनिएको नेपाल महोत्सव विभिन्न राज्यमा मनाउने क्रममा यही आउँदो मार्च ९ तारिख एडिलेडको एल्डर पार्कमा आयोजना हुँदै छ ।
मुलुकको कला संस्कृति र रहनसहन अनि खानपिनका साथै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य बोकेको एडिलेडको महोत्सवको तयारी लगभग पूरा भइसकेको आयोजक एनआरएन साउथ अस्ट्रेलियाका संयोजक सञ्जय पुरीले बताए ।
एडिलेड महोत्सव मुख्य आकर्षणका रूपमा रहेको नेपालको कला संस्कृति र महत्त्वपूर्ण पर्यटकीय स्थल चिनाउने नेपाल हाउस निर्माणको तीव्र रूपमा अगाडि बढिसकेको छ । यतिमात्र नभई आयोजनाका अन्य तयारी पनि लगभग पूरा भइसकेको संयोजक पुरीले जानकारी गराए ।
अस्ट्रेलियामा जन्मेका र हुर्केका नयाँ पुस्तासँगै अस्ट्रेलियामा रहेका पछिल्लो पुस्ताका युवा र अस्ट्रेलियन नागरिकका लागि नेपाल चिनारीको माध्यम बनेको यो नेपाल हाउस सदैव महोत्सवको केन्द्रविन्दु बन्दै आएको छ ।
नेपाली परम्परागत बाजा, ढिकी, जाँतो मात्र नभएर हलो र जुवासमेत दर्शकले अवलोकन गर्न पाउनेछन् । नेपालकै परिचय बोकेको धरहरा, नेपाली परम्परागत ढुंगेधारा, इनार, घर, बौद्ध चैत्य, मन्दिर पनि हाउसको मुख्य आकर्षण रहेको एनआरएन अस्ट्रेलियाका केन्द्रीय सचिव थिर गुरुङले बताए ।
एडिलेडको आफ्नै पहिचान बनेको नेपाली पञ्चेबाजा, मौलिक बाजासहित सांस्कृतिक वस्तुहरू प्रदर्शनीमा राखिने अनि नेपालको पर्यटन प्रवर्द्धनमा समेत महत्त्वपूर्ण सहयोग पुग्ने अतिथि सत्कार संयोजक विष्णु तिवारीले जानकारी दिए ।