‘फोर्स लिभ’ बस्दै गभर्नर अधिकारी


Capital Headline
प्रकाशित मिति : बुधबार, फाल्गुन २१ २०८१
1.8K
SHARES

२१ फागुन काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल आगामी चैत २४ गते सकिँदैछ । कार्यकाल सकिन एक महिना अगावै गभर्नर अधिकारी अनिवार्य बिदा ‘फोर्स लिभ’ बस्न लागेका छन् ।
सरकारले २०७६ चैत २४ गते अधिकारीलाई ५ वर्षको लागि राष्ट्र बैंकको गभर्नर नियुक्त गरेको थियो।

सरकारी तथा निजी संघसंस्थामा सामान्यतया कार्यकाल सकिनु एक महिनाअघि बिदा बस्ने चलन छ । ‘नेपाल सरकारले बहालवाला गभर्नरको पद रिक्त हुनुभन्दा सामान्यतया एक महिना अगावै गभर्नरको पदमा यस ऐन बमोजिम नियुक्त गरी सोको सूचना सार्वजनिक रूपमा प्रकाशन तथा प्रसारण गर्नेछ,’ राष्ट्र बैंक ऐन २०५८ को दफा २५ मा भनिएको छ ।

यही व्यवस्थाअनुसार गभर्नर पद रिक्त हुनुभन्दा एक महिना अगावै नयाँ गभर्नर नियुक्त गरी सार्वजनिक सूचना निकाल्नुपर्ने हुन्छ । ऐनको यही व्यवस्थाअनुसार फागुन २५ गतेबाट गभर्नर अधिकारी बिदामा बस्नुपर्नेछ । अधिकारी २०७६ चैत २५ गते केन्द्रीय बैंकको गभर्नरमा नियुक्त भएका थिए । ऐनअनुसार नै गभर्नर नियुक्त गर्ने हो भने मन्त्रिपरिषद्ले सोमबार अर्थमन्त्रीको अध्यक्षतामा गभर्नर सिफारिस समिति गठन गर्नेछ ।