लोडसेडिङको अन्त्य कुलमानले गरेको होइन – ऊर्जामन्त्री
२२ फागनु काठमाडौं । ऊर्जामन्त्री दीपक खड्काले नेपालमा लोडसेडिङको अन्त्य भएको श्रेय भारतलाई दिनुपर्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा उनले लोडसेडिङको अन्त्य गर्न भारतसँग विद्युत् खरिद सम्झौता तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको बताए ।विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नेतृत्वमा लोडसेडिङ अन्त्य भएको भ्रम सांसदहरूलाई नपाल्न मन्त्री खड्काले आग्रह गरे ।
‘लोडसेडिङको अन्त्य हुँदै गर्दा हामीहरूले भारतबाट ४५० मेगावाट विद्युत् आयात गरेका थियौँ । ४२५ मेगावाट आवश्यक थियो । अर्कोतिर उद्योग धन्दामा लाइन कम दिइर लोडसेडिङ कम भयो भन्यौँ । आवश्यकता परिपूर्ति गर्दिएकोमा भारतलाई धन्यवाद दिऔँ,’ उनले भने, ‘तत्कालीन समयमा लोडसेडिङ अन्त्य गरेको श्रेय भारतलाई जानुपर्छ ।’
हालका प्रधानमन्त्री बहाल रहेको बेलामा विद्युत् खरिद गरेकाले लोडसेडिङ अन्त्य भएको उनले बताए । ‘उहाँको एकल प्रयासले अन्त्य भएको होइन । कार्यान्वयन पक्ष राम्रो भयो होला,’ मन्त्री खड्काले भने ।