ओली सरकारको कारणले प्रतिक्रियावादीहरू उत्साहित भए – अध्यक्ष प्रचण्ड


Capital Headline
प्रकाशित मिति : आइतबार, फाल्गुन २५ २०८१
2.4K
SHARES

२५ फागुन काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हुलाकी राजमार्ग केन्द्रित माओवादी तराई-मधेश जागरण अभियानले जनतामा माओवादीप्रतिको विश्वास बढाएको बताएका छन् । नेपाली जनप्रगतिशील मञ्च जापानको दोस्रो साधारणसभालाई भर्चुअल रूपमा सम्बोधन गर्दै उनले केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार अभियान चलाएको बताए ।

‘पार्टीको पछिल्लो केन्द्रीय समिति बैठकबाट माओवादी केन्द्रले नेताहरूबीच भावनात्मक एकता कायम गर्दै पार्टीलाई जनतासँग एकाकार गराएर अघि बढ्ने निर्णय गरेको छ। सोही निर्णयअनुसार हामी अहिले हुलाकी राजमार्ग केन्द्रित माओवादी तराई-मधेश जागरण अभियानमा क्रियाशील छौँ,’ उनले भने, ‘पार्टी र जनताबीचको सम्बन्ध थप मजबुत बनाउँदै अघि बढिरहेका छौँ । यसले जनतामा माओवादीप्रतिको सकारात्मक भावना झन् बढेको छ । जनताले ‘असली पार्टी त माओवादी नै रहेछ’ भन्ने अनुभव गर्न थालेका छन् ।’

सरकारमा रहेर जनताको पक्षमा काम गर्दा र भ्रष्टाचारविरुद्ध कदम चाल्दा आफू नेतृत्वको सरकारलाई असंवैधानिक ढंगले अपदस्थ गरिएको उनको तर्क छ । ‘हामी राम्रो काम गर्दै थियौँ, तर उनीहरूले हाम्रो सरकार हटाइदिए । तर जनताले त्यो कुरा प्रस्ट बुझिसकेका छन् । हामीले प्रचारप्रसार गर्नै परेन,’ प्रचण्डले भने, ‘ठूलो दलको सरकार बन्नुपर्ने अवस्थामा पनि असंवैधानिक र अलोकतान्त्रिक रूपमा सरकार गठन भयो । यो कुरा जनताले राम्रोसँग बुझेका छन् ।’

पार्टीले केही दिन अभियान रोक्दा अन्य पार्टीका नेताहरू तथा बुद्धिजीवी र कर्मचारीहरूले समेत अभियान पुनः सुरु गर्न आग्रह गरेको प्रचण्डको भनाइ छ । अहिले एमाले नेतृत्वको सरकारले गरिरहेको जनविरोधी गतिविधिका कारण प्रतिक्रियावादी शक्तिहरू उत्साहित भएको उनको भनाइ छ । माओवादी केन्द्र जनताबीच पुगेर प्रतिक्रियावादी र अराजक तत्त्वहरूविरुद्ध संघर्ष गर्ने तयारीमा रहेको उनले बताए ।

‘सरकारका जनविरोधी गतिविधिहरू रोक्नु माओवादी केन्द्रको जिम्मेवारी हो । अहिले अभियानमा जनताको उत्साहपूर्ण सहभागिता रहँदै गर्दा हामीले केही दिनका लागि अभियान स्थगित गरी संसद् र स्ववियु निर्वाचनका काममा केन्द्रित हुने निर्णय गरेका छौँ,’ प्रचण्डले भने । काठमाडौंको राजनीतिक गतिविधिका कारण केही दिनपछि मात्र अभियानलाई निरन्तरता दिने योजना रहेको उनले बताए ।