आयुर्वेद चिकित्सालयमा सेवा विस्तार
२६ फागुन त्रिशूली । नुवाकोटको विदुर नगरपालिका–५ पिपलटारस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले २५ श्ययाको अन्तरङ्ग सेवा (अस्पताल) सञ्चालनमा आएको छ । स्थापनाको करिब तीन दशकसम्म बहिरङ्ग (ओपिडी) सेवा दिँदै आएको चिकित्सालयले बागमती प्रदेश सरकारको सहयोगमा आइतबारदेखि सुरु गरेको २५ श्ययाको अस्पतालको बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले शुभारम्भ गरे । अस्पतालको सेवा विस्तारलाई नियमित बनाउन चुनौती भएकाले विश्वसनीय सञ्चालनका लागि सेवा प्रवाहमा खटिन उनले निर्देशन दिए ।
“आयुर्वेदिक सेवा मानिसले रोगले आक्रमण गर्न सुरु गदाको बखतमा लिनुपर्नेमा स्वास्थ्य अवस्था निकै कमजोर भएर अन्यत्र उपचार नभएर निराश भएपछि मात्र आउने गरेको पाएको छु”, उनले भने, “प्रदेश सरकारले मुख्यमन्त्री स्वास्थ्य कार्यक्रमलगायतका सेवा विस्तार गरेर पुर्याउँदै आएको सहयोगका सेवालाई प्रचारप्रसारमा जोड दिएर लक्षित वर्गसम्म पु¥याउन लाग्नुहोस् । बिरामीको माग र सेवाग्राहीको चापअनुसार थप सेवा वृद्धि गर्दै लैजानेछौँ ।”
चिकित्सालयमा अस्पतालको सेवा शुभारम्भको क्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगरले चिकित्सालयले आफूलाई चाहिने आयुर्वेद औषधिको उत्पादनमा संलग्न हुने कार्यक्रम सञ्चालनमा ल्याउन सुझाव दिए । अस्पताललाई चाहिने भौतिक संरचना, जनशक्ति, उपकरण सहितको सेवा उपलब्ध रहेकाले बिरामीलाई आयुर्वेद सेवामा आकर्षण गर्नतर्फ लाग्न उनले निर्देशन दिए ।