सरकार फेरिने कुनै सम्भावना छैन – प्रमुख सचेतक बर्तौला
४ चैत काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौला वर्तमान सरकार फेरिने कुनै सम्भावना नरहेको जिकिर गरेका छन् ।सोमबार नयाँ बानेश्वरस्थित संसद् भवनमा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा बर्तौलाले राष्ट्रिय सहमतिको आधारमा बनेको सरकार भएकाले परिवर्तन हुने कुनै सम्भावना नरहेको बताए ।
उनले सरकार परिवर्तन वा कुनै दललाई सरकारमा भित्र्याउने वा बाहिर पठाउने विषयमा कुनै बैठक नभएको दाबी गरे । सरकारमा आउन रुचि भएकाहरूले सरकार परिवर्तनको हल्ला चलाएको उनको भनाइ छ । बर्तौलाले अहिले कांग्रेस र एमालेको संयुक्त सरकार भए पनि ०८४ को निर्वाचनमा एमालेले बहुमत ल्याउने गरी तयारी गर्ने पनि बताए ।