पुटिनसँग वार्ताअघि केही विषयमा भयो सहमति – ट्रम्प


Capital Headline
प्रकाशित मिति : मंगलबार, चैत्र ५ २०८१
2.1K
SHARES

५ चैत काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनसँगको बहुप्रतीक्षित फोनवार्ताअघि नै युक्रेनमा शान्ति सम्झौताका केही विषयमा सहमति भएको बताएका छन् ।आफ्नो सामाजिक सञ्जाल ट्रुथमा ट्रम्पले यस्तो जानकारी दिएका हुन् ।उनले लेखेका छन्, “म मंगलबार बिहान रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग युक्रेनमा जारी युद्धसँग सम्बन्धित विषयमा कुरा गर्नेछु । यद्यपि, केही विषयमा सहमति भएको छ, तर धेरै बाँकी छ ।”

रुस र युक्रेनबीच जारी युद्धका विषयमा ट्रम्पले लेखेका छन्, “हजारौँ युवा सैनिक समेत धेरै मानिसको मृत्यु भइसकेको छ । हरेक हप्ता दुवैतर्फ २५ सय सैनिकको मृत्यु भइरहेको छ । अब यो अन्त्य हुनुपर्छ ।”उनले अगाडि लेखेका छन्, “म राष्ट्रपति पुटिनसँग फोनमा हुने वार्तालाप लिएर उत्सुक छु ।”

यसअघि, राष्ट्रपति ट्रम्पले पत्रकारसँग भनेका थिए, “हामी शान्ति सम्झौता, युद्धविराम गर्न सक्छौँ कि सक्दैनौँ भनेर हेरिरहेका छौँ । र, मलाई लाग्छ कि हामी यस्तो गर्न सक्छौँ ।”सोमबार राति युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसमाथि युद्ध लम्ब्याएको आरोप लगाएका थिए ।